चितवन / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच समन्वयको कुनै समस्या नरहेको स्पष्ट पारेका छन्। बिहीबार राति सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारलाई स्वतन्त्र ढङ्गले काम गर्ने वातावरण बनाउनु पार्टीको नीति रहेको बताएका हुन्।
सरकारका कामकारबाहीमा आवश्यकताअनुसार छलफल गर्ने, सुझाव दिने तथा विभिन्न विषयमा स्पष्टता माग्ने प्रक्रियालाई पार्टीभित्रको असमझदारीका रूपमा लिन नहुने लामिछानेको भनाइ छ।
उनले पार्टीले सरकारका हरेक निर्णयमा समर्थन जनाउनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै निर्णयको औचित्य पुष्टि गर्ने दायित्व सरकारकै भएको बताए। उनका अनुसार सरकारले आफ्नो जिम्मेवारीअनुसार काम गर्ने र पार्टीले आवश्यकताअनुसार सुझाव तथा खबरदारी गर्ने अभ्यास नै उचित हो।
विगतमा सरकारको स्थायित्व र पार्टीभित्रको एकता कायम राख्न प्रधानमन्त्रीसँगै अर्को व्यक्तिलाई शक्तिकेन्द्रका रूपमा राख्ने राजनीतिक अभ्यास आफ्नो पार्टीले नअपनाएको पनि उनले स्पष्ट पारे। पार्टी र सरकारका जिम्मेवारी अलग(अलग भएकाले दुवैले आ(आफ्नो भूमिकामा रहेर काम गर्नुपर्ने उनको धारणा छ।
- ADVERTISEMENT -

प्रहरी महानिरीक्षक (आईजीपी) को जिम्मेवारी हेरफेरलगायत विषयमा पार्टीले सरकारसँग स्पष्टीकरण मागेको प्रसङ्गमा लामिछानेले सुरक्षा निकायसँग सम्बन्धित निर्णय संवेदनशील हुने बताए। यस्ता निर्णयको औचित्य उपयुक्त समयमा सरकारले नै पुष्टि गर्नुपर्ने उनको भनाइ थियो।
सरकारका काममा कमजोरी देखिएमा पार्टीले प्रश्न उठाउनु र सुधारका लागि खबरदारी गर्नु स्वाभाविक प्रक्रिया भएको उनले बताए। यसलाई पार्टी र सरकारबीचको विवादका रूपमा व्याख्या नगर्न पनि उनले आग्रह गरे।
लोकतान्त्रिक मूल्य र मान्यताप्रति पार्टी प्रतिबद्ध रहेको उल्लेख गर्दै लामिछानेले आवश्यक परेको अवस्थामा सरकारलाई सही दिशामा अघि बढाउन पार्टीले भूमिका निर्वाह गर्ने बताए।
त्यसैगरी, राज्यका विभिन्न निकायले संविधान र कानुनले प्रदान गरेको अधिकार स्वतन्त्र तथा निष्पक्ष रूपमा प्रयोग गर्न पाउनुपर्नेमा उनले जोड दिए। अनुसन्धानलगायत विषयमा संस्थागत प्रक्रियामाथि विश्वास गर्नुपर्ने उनको धारणा थियो।
प्रहरी प्रशासन, अदालत, प्रेस काउन्सिल र राष्ट्रिय मानवअधिकार आयोगजस्ता संवैधानिक तथा संस्थागत निकायलाई बलियो बनाउनुपर्ने उल्लेख गर्दै उनले कुनै निकायबाट त्रुटि भए त्यसलाई सच्याउने विधि र प्रक्रिया विद्यमान रहेको बताए।
पार्टी र सरकारबीचको सम्बन्धबारे उठेका प्रश्नको जवाफ दिँदै लामिछानेले सरकारलाई काम गर्न स्वतन्त्रता दिने तर आवश्यकताअनुसार सुझाव, प्रश्न र खबरदारी गर्ने पार्टीको अभ्यासलाई सकारात्मक रूपमा बुझ्नुपर्ने बताएका छन्।
















































