काठमाडौं / नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् ।
प्रिन्स विलियम काउन्टी अदालतको जुरीले मंगलबार नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो । करिब पाँच घण्टासम्म विचारविमर्श गरेपछि जुरीले उनलाई दोषी ठहर गर्ने निर्णय सुनाएको थियो ।
जुरीको फैसलापछि अदालतले सजाय निर्धारण नभएसम्म नरेशलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ । उनको सजाय आगामी सन् २०२७ मार्चमा निर्धारण हुने तय भएको छ ।
मुद्दाको सुनुवाइका क्रममा अभियोजन पक्षले नरेशविरुद्ध विभिन्न प्रमाण र साक्षी प्रस्तुत गरेको थियो । विषविज्ञान विशेषज्ञ, नरेशका पूर्वरूममेट तथा ममताका साथी र सहकर्मीले अदालतमा बयान दिएका थिए ।
- ADVERTISEMENT -

सुनुवाइका क्रममा ममताकी साथी सुनिता बस्नेत थापाले ममता आत्महत्या गर्ने स्वभावकी नभएको बताएकी थिइन् । उनका अनुसार ममताले कहिल्यै आत्महत्याबारे कुरा गरेकी थिइनन् । थापाले ममताको अनुहारमा चोटसमेत देखेको बयान अदालतमा दिएकी थिइन् ।
अभियोजन पक्षले मुद्दामा करिब १०० जना साक्षी र झन्डै ५०० वटा प्रमाण प्रस्तुत गरेको थियो । तर, नरेशले भने ममताले आत्महत्या गरेको दाबी गर्दै आएका थिए । प्रतिरक्षा पक्षले समेत अभियोजन पक्षले उनीविरुद्धको आरोप पुष्टि गर्न नसकेको जिकिर गरेको थियो ।
ममता सन् २०२४ मा अचानक बेपत्ता भएपछि उनीबारे खोजी र अनुसन्धान सुरु भएको थियो । अनुसन्धानका क्रममा प्रहरीले उनका पति नरेशमाथि पत्नीको हत्या गरी शव लुकाएको लगायतका अभियोग लगाएको थियो ।
लामो अनुसन्धान र अदालतमा भएको सुनुवाइपछि अन्ततः जुरीले नरेशलाई हत्या तथा शवसँग सम्बन्धित अन्य अभियोगमा दोषी ठहर गरेको हो । अब अदालतले आगामी मार्चमा उनको सजाय निर्धारण गर्नेछ ।
















































