चितवन / नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो ‘नारायणी महोत्सव–२०८३’ मा शनिबार दर्शकको उल्लेख्य घुइँचो लागेको छ । बिदाको दिन परेकाले महोत्सव अवलोकन तथा मनोरञ्जनका लागि आउने सर्वसाधारणको चहलपहल बढेको हो ।
महोत्सव सह–संयोजक सागर कुमालका अनुसार आज (आइतबार) पनि सार्वजनिक बिदा परेकाले महोत्सवमा दर्शकको संख्या अझै बढ्ने अपेक्षा गरिएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण तथा रोजगारी सिर्जनालाई समेत प्राथमिकता दिएर आयोजना गरिएको महोत्सवमा विभिन्न आकर्षणले दर्शकको ध्यान खिचिरहेका छन् ।
महोत्सवको प्रवेशद्वारमा निर्माण गरिएको आकर्षक पिरामिड शैलीको गेट, जिरो ग्र्याभिटी राइड र रोटेपिङ मुख्य आकर्षण बनेका छन् । यी आकर्षणमा रमाउने तथा फोटो र भिडियो खिच्ने दर्शकको भीड देखिन्छ । बालबालिका, युवा तथा परिवारका सबै उमेर समूहलाई लक्षित गरी विभिन्न मनोरञ्जनात्मक खेल, राइड तथा गतिविधिसमेत सञ्चालन गरिएका छन् ।
महोत्सव परिसरमा व्यापारिक स्टल तथा प्रदर्शनी कक्ष पनि दर्शकका लागि आकर्षण बनेका छन् । स्थानीय उत्पादन, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, होटल तथा रेस्टुरेन्टका स्टल र विभिन्न खानाका परिकारले महोत्सवलाई थप रौनकपूर्ण बनाएका छन् ।
- ADVERTISEMENT -

नारायणी नदी किनारलाई पर्यटनसँग जोड्दै भरतपुरसहित समग्र चितवनको आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । आन्तरिक पर्यटक आकर्षित गर्ने, स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायलाई प्रोत्साहन गर्ने, कलाकार तथा सांस्कृतिक प्रतिभालाई अवसर प्रदान गर्ने र स्थानीय उत्पादनको बजारीकरण गर्ने लक्ष्य आयोजकले राखेको छ । महोत्सवले स्थानीय कला, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
बाढीका कारण क्षतविक्षत बनेको नारायणी नदी किनारलाई आयोजकले आफ्नै लगानीमा सम्याएर तथा व्यवस्थापन गरेर महोत्सव सञ्चालन गरेको हो । महोत्सवलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा ट्राफिक प्रहरीसँग समन्वय गरिएको आयोजकले जनाएको छ । सवारीसाधन व्यवस्थापन, पार्किङ, पैदलयात्रुको आवागमन, सरसफाइ, प्राथमिक उपचार तथा आपत्कालीन व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।
रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिको आयोजना तथा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनको सहआयोजनामा जारी महोत्सव मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।
आयोजकले महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी पर्यटन, व्यापार, रोजगारी र स्थानीय अर्थतन्त्रसँग जोडिएको अवसरका रूपमा लिएको जनाएको छ । साथै, महोत्सव अवलोकन गरी सफल बनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।















































