काठमाडौं / प्युरोर्टो रिकोकी जेनिफर ब्यारेटोले ‘मिस युनिभर्स २०२६’ को उपाधि जित्दै नयाँ इतिहास रचेकी छन् । उनी प्रतियोगिताको इतिहासमा ताज पहिरिने पहिलो विवाहित महिला तथा आमा बनेकी छन् ।
नोभेम्बर २५ (बुधबार) प्युरोर्टो रिकोको राजधानी सान जुआनमा सम्पन्न प्रतियोगिताको ७५औँ संस्करणमा जेनिफरलाई विजेता घोषित गरिएको हो । उनलाई मिस युनिभर्स २०२५ की विजेता फातिमा बोशले ताज पहिराइदिएकी थिइन् ।
मोडल तथा सामाजिक कार्यकर्तासमेत रहेकी जेनिफरकी एक छोरी छिन् ।
सन् २०२३ को संस्करणदेखि मिस युनिभर्स संगठनले नियम परिवर्तन गर्दै विवाहित, सम्बन्धविच्छेद भएका महिला तथा आमाहरूका लागि पनि प्रतियोगिताको ढोका खुला गरेको थियो। यसअघि अविवाहित महिलाहरूले मात्र सहभागिता जनाउन पाउने नियम थियो । प्रतियोगितामा डोमिनिकन रिपब्लिककी मेलिसा नुनेज ‘फर्स्ट रनर–अप’ र भेनेजुएलाकी क्लारा भेगास ‘सेकेन्ड रनर–अप’ घोषित भए । शीर्ष पाँचमा ब्यारेटोसँगै फिलिपिन्स, न्युजिल्यान्ड, भेनेजुएला र डोमिनिकन रिपब्लिकका सुन्दरीहरू पुगेका थिए ।
- ADVERTISEMENT -

विश्वका ११० भन्दा बढी देश तथा क्षेत्रका प्रतिस्पर्धी सहभागी यस संस्करणमा सेन्ट मार्टिन र युगान्डाजस्ता देशले पहिलो पटक सहभागिता जनाएका थिए । उता, भारतको प्रतिनिधित्व गरेकी केरलाकी १९ वर्षीया काजिया लिज मेजो शीर्ष–३० मा स्थान बनाउन सफल भए पनि शीर्ष(१२ मा पुग्नबाट भने चुकिन् ।
जेनिफरको जितसँगै प्युरोर्टो रिकोले छैटौँ पटक मिस युनिभर्सको ताज हात पारेको छ । यसअघि प्युरोर्टो रिकोका तर्फबाट सन् १९७० मा मारिसोल मलारेट, १९८५ मा डेबोरा कार्थी(ड्यू, १९९३ मा दयानारा टोरेस, २००१ मा डेनिस क्विनोनेस र २००६ मा जुलेका रिभेराले यो उपाधि जितेका थिए ।
यस वर्ष विजेतालाई पहिराइएको नयाँ ताजको नाम ‘द रेडियन्स अफ एन इटरनल लिगेसी’ राखिएको छ । डिजाइनर जर्ज विटल्स र मेसन डी’ओरको सहकार्यमा तयार पारिएको उक्त ताजमा १८ क्यारेट सेतो सुनमा ३ हजार १ सय ५० वटा हीरा जडान गरिएको छ ।















































