भरतपुर । सामाजिक प्राणी भएकोले मानिसलाई समाज चाहिन्छ । त्यसैले मानिस बाँचे समाज रहन्छ र समाज रहे मानिस रहन्छ । त्यसैले समाजलाई बचाउन सके आफू सदैव रहिरहन्छ । समाजले मानिसलाई जिउन सिकाउँछ । संघर्ष के हो भन्ने बुझाउँछ । तर, मानिस सामाजिक प्राणी भएर पनि उसले समाजको लागि केही गर्न सक्दैन भने त्यस्तो व्यक्ति समाजको लागि आवश्यक नपर्न सक्छ । या त भनौँ उसको जीवन सार्थक नहुन सक्छ ।
हुन त मानिसको स्वभाव सबैको एकनास हुँदैन । त्यसैले होला, समाजमा सबै मानिसले समाजमा आफ्नो क्षमता देखाउन पनि सक्दैनन् । केही व्यक्ति मात्रै समाजका लागि उदाहरणीय बन्न सक्छन्, जो समाजको लागि केही गर्नुपर्छ भन्ने भावनाले समाजसेवामा लागेको पाइन्छ । जो समाजको लागि केही गर्छु भनेर निःस्वार्थ भावनाले अगाडि बढ्छ, उसैलाई थाहा हुन्छ, जीवन जिउनुको मजा र आनन्द ।
यस्तै–यस्तै सामाजिक भावनाले मैले केही गर्नुपर्छ भनेर लागि परेका एक अभियान्ता हुन् विमल सापकोटा । लक्ष्मी माध्यमिक विद्यालय लंकूबाट एसईई पास गरेका सापकोटा कक्षा ८ मा पढ्दादेखि नै समाजसेवा भनेपछि हुरुक्क हुन्थे । अरू कसैले सामाजिक काम गरेको उनी नजिकैबाट नियाल्थे । त्यसैको प्रतिफल होला आज उनी चितवनमा कान्छो सामाजिक अभियन्ता भनेर चिनिएका छन् ।
एसईईपछि अध्ययनका लागि उनी नवलपुरको गैँडाकोटस्थित अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङमा भर्ना भए । हाल स्नातक तह अध्ययरत सापकोटालाई बुबाको माया के हो, थाहा नै भएन । बुबाको सहारा नपाए पनि आमाको काखले बुबाको अभाव कहिल्यै महसुस हुन दिइनन् उनकी आमा सुमित्राले । जसले गर्दा सानैदेखि सामाजिक सेवामा लाग्न तल्लीन बनायो । फलस्वरूप विमलकी आमा पनि सानै उमेरमा छोराको परिचय फराकिलो बन्दै गएकोप्रति खुसी छिन् । ‘सुख के हो भन्ने नै थाहा छैन, त्यसैले होला दुःख नै मेरो साथी हो जस्तो लाग्छ,’ उनी भन्छन् ।
सानैदेखि अभावमा हुर्किएको कारण अरूको दुःख हेर्न नसक्ने उनी बताउँछन् । आफूले जस्तै अरूले दुःख नपाऊन् भनेर समाजका लागि दिनरात नभनी दौडिरहेका छन् । सरसफाइ होस् या विपन्नलाई राहत वितरण होस्, चाहे जुनसुकै सामाजिक काम नै किन नहोस्, उनी अग्रस्थानमा रहेर काम गर्छन् ।
गतवर्ष बारा जिल्लामा हावाहुरीको कारण धेरै धनजनको क्षति हुँदा अस्थायी टहरा बनाउन ४ रात उतै बास बसेर काम गरेको उनको अनुभव छ । समाजमा रहेका पीडित, दुःखी, गरिब तथा विपन्न परिवारका लागि सदैव उनको कदम अघि बढेको छ । उनले समाजिक कार्यको यात्रामा ‘सुनौलो समाज’ नामक सस्थालाई जन्म दिएर देशका विभिन्न ठाउँमा सामाजिक कार्यमार्फत युवाहरूको सहभागितालाई अगाडि बढाउँदै आएका छन् ।
‘समाजले मलाई के दियो होइन, मैले समाजलाई के दिन सक्छु भन्ने भावनाका साथ हिँडेको छु,’ उनी भन्छन् । नेपाल सरकारले विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरस रोकथामका लागि गरेको ‘लकडाउन’का कारण विपन्न तथा बढी प्रभावितहरूलाई राहत वितरण गर्न अहिले पनि लागि परेका छन् उनी ।
शैक्षिक संस्थाहरूसमेत पूर्णरूपमा बन्द रहेका कारण सामाजिक काम गर्न उनलाई यतिबेला थप फुर्सद मिलेको छ । तर, स्वास्थ्य सुरक्षाको दृष्टिकोणले आफैँ पनि जोखिममा पर्न सक्ने हुँदा सावधानी अपनाएर काम गरिरहेको उनको भनाइ छ । फुर्सदको समयमा सामाजिक सञ्जाल नियाल्छन्, कहाँ के भइरहेको छ भनेर । आवश्यक परेमा सामाजिक सञ्जालबाटै सहयोग संकलन गरेर आवश्यक स्थानमा पु¥याउँछन् ।
अहिले पनि लकडाउनका कारण खाना नपाएर बसेकाहरूलाई राहत सामग्री लिएर स्थानीयस्तरमा रहेका विभिन्न वडा तथा टोलहरूमा दौडिरहेका छन् । अहिलेको यो अभियानमा भने उनलाई ‘सक्षम नेपाल अभियान’का प्रकाश थापा र अनु शर्माले पूर्णरूपमा साथ दिइरहेका छन् । उनीहरूसँग यसअघि पनि सहकार्य गर्दै आएका छन् । सामाजिक काममा पारदर्शी ढंगले अगाडि बढ्न उनी सबै सामाजिक अभियन्ताहरूलाई सुझाव दिन्छन् ।
समाजसेवा मेरो कर्तव्य – सापकोटा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
