October 3, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आन्तरिक पर्यटकले व्यवसाय धान्न गाह्रो : व्यवसायी

December 30, 2020

चितवन / कोरोना महामारीको बीचमा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालनमा आएको चितवनको सौराहामा पर्यटक आगमन सन्तोषजनक हुन सकेको छैन । कोरोनाका कारण विदेशी पर्यटकहरु आउन सक्ने अवस्था नरहेको स्थितिमा अहिले फाट्टफुट्ट मात्र आन्तरिक पर्यटक आएका छन् । ती पर्यटकबाट भएको आम्दानीले खर्चसमेत धान्न नसक्ने अवस्था रहेको व्यवसायीहरु बताउँछन् ।
पछिल्लो एक महिनायता सौराहामा बास बस्ने पर्यटकको संख्या १५ प्रतिशत र दिनभरि घुमेर बेलुका घर फर्कने पर्यटकको संख्या ३० प्रतिशत रहेको छ । दुई, तीन दिनको प्याकेज कार्यक्रममा सहभागी भएर गन्तव्य घुम्ने पर्यटकको संख्या कम रहेका कारण व्यवसायीहरुले लगानी उठाउन सक्ने अवस्था छैन । ‘पर्यटक आएनन् भन्दा थोरै मात्रामा छन्, क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष दीपक भट्टराईले भने, ‘बास बस्ने पर्यटकको संख्या निकै कम छ ।’ बिहान आएर दिनभरि सौराहामा घुम्ने पर्यटकको संख्या केही बढी रहेको भए पनि त्यसले सौराहाको पर्यटन नचल्ने उनको भनाइ छ ।
चैत यता आठ महिना होटल बन्द गरेका व्यवसायीहरुले सौराहा खुलेपछि पनि राम्रोसँग खर्च गर्ने आर्थिक हैसियत भएका पर्यटकहरु यहाँ आउन नसकेको व्यवसायीहरुले बताएका छन् । सौराहा खुलेसँगै हात्ती, जिप सफारी, डुंगा सयर खुलेका छन् । तर, पर्यटकलाई सेवा दिने अंगहरुले राम्रोसँग सेवा प्रदान गर्न सकेका छैनन् । ड्याम साइडमा रहेको राप्ती रेस्टुरेन्टका सञ्चालक पुरूषोत्तम लामिछानेले केही संख्यामा पर्यटक आएको भए पनि सन्तोषजनक व्यापार नभएको बताए ।
‘पहिलाजस्तो हातै बाँधेर बस्नु परेको छैन’, लामिछानेले भने, ‘रेस्टुरेन्टमा २५ देखि ३० प्रतिशतमात्रै व्यापार भएको छ ।’ पछिल्लो समय सौराहाको रमणीय वातावरण हेरेर फर्कने पर्यटकको संख्या अधिक रहेको व्यवसायी लामिछानेले बताए ।
आन्तरिक पर्यटक प्रबर्द्धनका लागि क्षेत्रीय होटल संघ चितवन र रेवान सौराहाले छूट प्याकेज घोषणा गरेका छन् । रेस्टुरेन्टमा २० र होटलमा ४० प्रतिशतसम्म छूट प्याकेज घोषणा गरिएको संघका अध्यक्ष भट्टराईले बताए ।
आन्तरिक पर्यटन प्रबर्द्धनका लागि स्थानीय सरकारको सहकार्यमा व्यवसायीहरुले घुमौँ सौराहाअभियान सुरू गरेका छन् । कोरोनाको हिसाबले सौराहा सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न सो अभियान सुरू गरिएको हो । सौराहा सुरक्षित छ भन्ने सन्देश देशका ७ वटै प्रदेशमा पुरयाउने उद्देश्यका साथ अभियान सुरू गरिएको रेस्टुरेन्ट एण्ड बार एसोसिएसन सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले बताए । अभियानअन्तर्गत भएका प्रचारप्रसारका कार्यक्रमले सौराहामा बास बस्ने पर्यटकको संख्या ५० प्रतिशत पुर्याउने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -