२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025
२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025 Thursday

निषेधाज्ञा एकसाता थपिदैँ, थप कडाई गर्ने

प्रकाशित मिति : २०७८ जेष्ठ १० गते
- ADVERTISEMENT -

काठमाडौं / कोरोनभाइरस महामारी रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ । भाइरस संक्रमणदर र मानवीय आवतजावत पनि नघटेकाले एक साता थप्ने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए । मंगलबार बस्ने उपत्यकास्थित तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले निषेधाज्ञा थप्ने निर्णय गर्नेछ । साथै, थप आदेशहरु जारी गर्ने तयारीमा जिल्ला प्रशासनहरु छन् ।
‘संक्रमणदर पनि घटेन र मान्छेको आवतजावत पनि निरन्तर देखिएकाले निषेधाज्ञामा कडाइ गर्दै एकसाता थप्ने हाम्रो तयारी छ’ काठमाडौंका सीडीओ पराजुलीले नेपाल प्रेससँग भने । सरकारले गतसाता ल्याएको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशको पनि प्रभावकारी कार्यान्वयन गर्नुपर्ने भएकाले निषेधाज्ञालाई कडाइका साथ थप्ने पराजुलीले जानकारी दिए ।
‘अध्यादेशमा उल्लेख भएका प्रावधानलाई कार्यान्वयनमा लैजाँदै अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन नदिने, अनावश्यक हिँड्डुल गर्नेलाई होल्डिङ गर्ने र मास्क नलगाउनेलाई जरिवाना गर्ने कुरालाई कडाइका साथ कार्यान्वयन गरिनेछ’ सीडीओ पराजुलीले भने । निषेधाज्ञालाई थप कडाइ बनाउने तयारीमा जिल्ला प्रशासनहरु छन् ।
गृह मन्त्रालयले शनिबार तीनैवटा सुरक्षा निकाय र सबै जिल्ला प्रशासनलाई परिपत्र गर्दै मानिसहरुलाई घर बाहिर निस्कन नदिन र निषेधाज्ञालाई कडाइ गर्न निर्देशन दिएको थियो । अहिले जारी भएको काठमाडौं उपत्यकाको निषेधाज्ञा जेठ १३ गते मध्यरातमा सकिँदैछ ।

- ADVERTISEMENT -