चितवन / फलफूल तथा तरकारी थोक व्यवसायी संघका सर्वसम्मत चयन भएका पदाधिकारीहरुलाई सपथ ग्रहण तथा पद हस्तान्तरण गरिएको छ । निर्वाचन मण्डलका संयोजक तथा संघका कानुनी सल्लाहकार अधिवक्ता गजेन्द्रप्रसाद वस्तीले शालिकराम घिमिरे र रामचन्द्रवंशी ठकुरीको सहजीकरणमा नवनिर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराएका हुन् ।
अधिवेशनबाट नवनिर्वाचित अध्यक्ष मुकुन्दप्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष जयराम पाण्डे, उपाध्यक्ष रामराज पाण्डे, महासचिव दिकपाल लामा, सचिव शम्भु अधिकारी र सदस्यहरु शंकरप्रसाद भेटुवाल, मनोज साह रौनियार, सुनिता ठकुरी, कुन्दन तामाङ र दिपक अधिकारीले सपथ ग्रहण गरेका हुन् ।
संघको २२औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनबाट सर्वसम्मत चयन भएका मुकुन्दप्रसाद गौतम लगायतका पदाधिकारीहरुलाई पूर्व अध्यक्षद्वय शालिकराम घिमिरे र थिरप्रसाद धितालले पद हस्तान्तरणमा सहजीकरण गरेका थिए । संघको नयाँ नेतृत्वमा ११ सदस्यीय कार्यसमिति गठन गरेको छ भने पहिलो बैठकबाट दुई सदस्य थप गरिने बताइएको छ ।
नवनिर्वाचित अध्यक्ष गौतमले पूर्व अध्यक्षहरुको योगदान कदर गर्दै आगामी दिनमा उहाँहरुले गर्नुभएको अधूरा कार्यलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरे । उनले संघको गरिमा उच्च बनाउन सबैको साथ र सहयोग अपरिहार्य भएको बताउँदै सबैलाई हातेमालो गर्नु पर्ने बताए ।
पूर्व अध्यक्षहरुको देनले नै संघ सफलतापूर्वक आजको अवस्थासम्म आएको उनले भने । उहाँहरुको सुझाव र सल्लाहलाई शिरोधार्य गर्दै अघि बढ्ने उनको भनाइ थियो । व्यवसायीहरुलाई परेको हरेक समस्यालाई वार्ता र सम्बोधनबाट समाधान गर्दै लैजाने उनले बचन बद्धता व्यक्त गरे ।
कार्यक्रममा संघका पूर्व अध्यक्षहरु शालिकराम घिमिरे, थिरप्रसाद धिताल, रामचन्द्रवंशी ठकुरी, पुरुषोत्तम गौतम लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवन वि.सं. २०५२ सालमा स्थापना भएको हो । हाल संघमा १४५ जना सदस्यहरु आवद्ध रहेका छन् ।