चितवन / नयाँकिरण कमलकुसुम माध्यमिक विद्यालयले बिहीबार विद्यालय परिसरमै खाना महोत्सव तथा भेषभूषा प्रदर्शनी गरेको छ । यसअघि २०७६ सालमा पहिलोपटक कार्यक्रम गरेको विद्यालयले दोस्रोपटक यो कार्यक्रम आयोजना गरेको छ ।
विद्यार्थीहरूमा पाक शिक्षाको व्यवहारिक ज्ञान तथा एकताको सूत्रमा बाँधिएको नेपाली सामानबारे जानकारी गराउन पनि यो कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक रामेश्वर अधिकारीले जानकारी दिए ।
विद्यार्थी र अभिभावकहरूका बीचमा फरक खालको कार्यक्रम आयोजना गरेको विद्यालयले जनाएको छ । ‘सैद्धान्तिक ज्ञानसँगै व्यवहारमा आवश्यक पर्ने यस्ता अतिरिक्त कृयाकलापले विद्यार्थीमा व्यवहारिक ज्ञान आर्जन हुनेमा हामी विश्वस्त छौँ,’ विद्यालयका प्रधानाध्यापक अधिकारीले दाबी गरे । विद्यालयले गरेको लगानीमा विद्यार्थी आफैँले सामान खरिद गरेर महोत्सव सञ्चालन गरेका हुन् ।
महोत्सवबाट भएको कारोबारमा साँवा विद्यालयलाई फिर्ता गराएर नाफा भने विद्यार्थीलाई हुने गरी महोत्सव आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रके पाण्डेले जानकारी दिए । उनका अनुसार विद्यार्थीले सेलरोटी, तरकारी, अचार, आलुचप, मःम, मासुका विभिन्न परिकार, चियालगायतका १६ प्रकारका खानाका परिकार प्रदर्शनीमा राखेका थिए ।
दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म भएको कार्यक्रमबाट करिब ५० हजार रूपैयाँ बराबरको कारोबार भएको समेत विद्यालयले अनुमान गरेको छ । विद्यार्थीहरूलाई कर्णाली, महाकाली, कोशी र गण्डकी सदनमार्फत कार्यक्रममा सहभागी गराइएको थियो ।
तिनै विद्यार्थीले भेषभूषा प्रदर्शनीसमेत गरेका थिए । भेषभूषा प्रदर्शनीले भने विद्यार्थीलाई नेपाल एउटै फूलबारीको साझा चौतारीको रूपमा चिनाउने प्रयास गरिएको विद्यालयकी शिक्षिका एवम् महाकाली सदन समूहकी व्यवस्थापक प्रीति तामाङले जानकारी दिइन् ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं.११ का वडा सदस्य सागर कुमाल (तारा) प्रमुख अतिथि रहेका थिए । साथै नयाँकिरण टोल विकास संस्थाकी अध्यक्ष चण्डिका रेग्मी, शिक्षक अभिभावक संघकी अध्यक्ष कृष्णकुमारी अधिकारीलगायतको पनि उपस्थिति थियो ।