April 26, 2025

लक्की फिल्मी अवार्डमा ‘छक्का पञ्जा–४’ को दबदबा

October 13, 2023
- ADVERTISEMENT -

चितवन / लक्की मिडिया हाउस चितवनले आयोजना गरेको लक्की फिल्मी अवार्ड २०८० मा चलचित्र छक्का पञ्जा–४ ले वर्चस्व कायम गरेको छ । बिहीबार आयोजना गरिएको अवार्ड वितरणमा चलचित्र छक्का पञ्जा–४ ले उत्कृष्ट चलचित्र अवार्डसहित पाँचवटा विधामा अवार्ड हात परेको हो ।

चलचित्र छक्का पञ्जा–४ ले उत्कृष्ट चलचित्रको अवार्डसँगै उत्कृष्ट कथा लेखन विधामा दीपकराज गिरी, उत्कृष्ट गायक महिलातर्फ सहिमा श्रेष्ठ ९दर्शन सलाम गीत०, उत्कृष्ट गायक पुरुषतर्फ डेभिड शङ्कर ९दर्शन सलाम गीत०, उत्कृष्ट सङ्गीतकार विधामा दीपक शर्माले अवार्ड हात पारेका छन् ।

त्यसैगरी चलचित्र प्रेम गीत–३ ले अन्तर्राष्ट्रिय प्रमोसन अवार्ड र यसै चलचित्रबाट उत्कृष्ट सिनेमाटोग्राफरमा पुरुषोत्तम प्रधान र राजेश श्रेष्ठले अवार्ड प्राप्त गरेका छन् । लक्की फिल्मी अवार्डमा उत्कृष्ट अभिनेतामा चलचित्र महापुरुषबाट वरिष्ठ कलाकार हरिवंश आचार्य र उत्कृष्ट अभिनेत्रीमा चलचित्र झिङ्गे दाउबाट कलाकार केकी अधिकारीले अवार्ड प्राप्त गरिन् । साथै, लोकप्रिय कलाकार पुरुषतर्फ आर्यन सिग्देल तथा महिलातर्फ कलाकार वर्षा राउतलाई अवार्ड प्रदान गरिएको थियो ।

उत्कृष्ट सम्पादक विधामा चलचित्र प्रकाशबाट जीवन थापा, उत्कृष्ट निर्देशक विधामा चलचित्र प्रकाशबाट दिनेश रावतलाई अवार्ड प्रदान गरिएको छ । त्यस्तै उत्कृष्ट कम्पोजर अवार्डबाट सङ्गीतकार अर्जुन पोखरेल, स्पेश मुभी अवार्डबाट चलचित्र नालापानी र गायन विधातर्फ गायक तथा सङ्गीतकार आनन्द कार्कीलाई सम्मान गरिएको आयोजक लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ९लक्की०ले जानकारी दिए ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नेपाली चलचित्र क्षेत्रमा राज्यको लगानी कम भएको आफू जानकार रहेको भन्दै यस क्षेत्रको प्रोत्साहन र प्रवद्र्धनका लागि आफूले सक्दो कोसिस गर्ने बताए । भरतपुरमा देशकै ठूलो अन्तर्राष्ट्रियस्तरको सभागृह निर्माण भइरहेको भन्दै अबको एक वर्षभित्रमा सञ्चालनमा आउने उनले जानकारी दिइन् ।

कार्यक्रममा नेपाली रङ्गमञ्चका वरिष्ठ कलाकार नीर शाहले सरकारलाई तिर्ने करको हिसाब गर्दा चलचित्र उद्योग ठूलो क्षेत्र भए पनि सरकारले यसको विकासमा खासै काम गर्न नसकेको गुनासो गरे । “नेपाली चलचित्र उद्योगमा वार्षिक रु सात अर्ब बराबरको कारोबार हुन्छ”, उनले भने, “विभिन्न तरिकाबाट यो रकमको १५ देखि २० प्रतिशतसम्म हामीले कर तिर्ने गरेका छौँ, तर नेपाली चलचित्र क्षेत्रको विकास खासै हुनसकेको छैन ।”
विशेषगरी ग्रामीण क्षेत्रका दर्शकको रुचिमा आधारित चलचित्र निर्माण गर्न सकेको खण्डमा नेपाली चलचित्र क्षेत्रको विकास हुने उनको भनाइ छ । ग्रामीण दर्शक केन्द्रित चलचित्र निर्माण गर्न चुकेका कारण नेपाली चलचित्रमात्रै हेर्ने दर्शकको संख्यामा कमी आएको उनले बताए ।

“नेपाली कलाकारलाई माया गर्ने दर्शकहरू ग्रामीण क्षेत्रमा बढी छन्”, उनले भने, “तर उनीहरूको पहुँच चलचित्र घरसम्म छैन । सबैको पहुँच चलचित्र घरसम्म पुर्याउन सरकारको भूमिका महत्वपूर्ण रहन्छ ।” एक लाख बढी व्यक्ति नेपाली चलचित्र क्षेत्रमा विभिन्न माध्यमबाट आश्रित रहेको भन्दै शाहले प्रत्यक्षरूपमा ४० हजार व्यक्ति चलचित्रमा आश्रित रहेको बताए ।

अवार्ड वितरण कार्यक्रममा चितवनलाई कर्मथलो बनाएर काम गर्दै आएका विभिन्न क्षेत्रका व्यक्तिलाई समेत सम्मान गरिएको थियो । यस कार्यक्रमलाई नियमितरूपमा बर्सेनि सञ्चालन गर्दै अघि बढ्ने मिडिया हाउसका महाप्रबन्धक एवं कार्यक्रम संयोजक हरि कार्कीले जानकारी दिए ।

- ADVERTISEMENT -