जनकपुरधाम / मंसिर शुक्ल पञ्चमी तीथि अर्थात आज जनकपुरधाममा धुमधामसँग सीताराम विवाहपञ्चमी महोत्सव मनाइँदै छ । आजकै दिन त्रेता युगमा भगवान राम र सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाहपञ्चमी मनाउने गरिन्छ ।
मंसिर २६ गतेबाट सुरु भएको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको आज छैठौं अर्थात आज मुख्य दिन मानिन्छ । त्रेता युगमा मर्यादा पुरुषोत्तम राम र आदर्श नारी सीताको विवाह प्राचीन मिथिलाको राजधानी जनकपुरमा भएको धार्मिक विश्वास छ ।
आज दिउँसो साधुशन्तको अगुवाईमा राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट सीताको डोला निस्केर जनकपुरको ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा पुगेपछि स्वयम्बर गरिन्छ ।
यता विवाहपञ्चमीको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ । प्रदेश सरकारले विवाहपञ्चमीको अवसरमा एक दिनको बिदा २०८० को क्यालेन्डरमा छुट्याएको छ । जुन राजपत्रमा समेत प्रकाशित छ ।