२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

भरतपुरमा भूमिगत विद्युतीकरण ६० प्रतिशत

प्रकाशित मिति : २०८० पुष २ गते
- ADVERTISEMENT -

चितवन / भरतपुर महानगरपालिकाभित्रका दुई मुख्य सडकमा जारी भूमिगत विद्युतीकरण ६० प्रतिशत सम्पन्न भएको बताइएको छ । जसअन्तर्गत भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण भइरहेको हो ।
नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख आनन्द सुवेदीका अनुसार पाइप बिच्छ्याउने काम ८० प्रतिशत सम्पन्न भएको छ ।
सडक छेउमा उपकरण राख्नका लागि फाउण्डेसनको काम ४० प्रतिशत र तार बिच्छ्याउने काम २५ प्रतिशत सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार भूमिगत विद्युतीकरणका लागि पाइप भूमिगत गर्ने एचजिडी मेसिन तीन वटाले काम गरिरहेका छन् ।
ठेकेदार कम्पनीले चार वटा समूहमा चार स्थानबाट काम गरिरहेको उहाँले बताउनुभयो । भारतको टाटा प्रोजेक्ट लिमिटेडले विद्युतीकरणको काम गरिरहेको उहाँले जानकारी दिनुभयो । यो कम्पनीले भरतपुर र पोखरामा भूमिगत विद्युतीकरणको काम गरिरहेको छ ।
सुवेदीका अनुसार अमेरिकी डलरमा टेण्डर भएकाले रकम सामान्य तलमाथि हुने भए पनि ठेक्का रकम रु २ अर्ब ५० करोड हाराहारी हुन आउँछ । भरतपुर बाइपास सडकको पूरै र छ लेनको पुलचोकदेखि केन्द्रीय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिने उहाँले जानकारी दिनुभयो । बसपार्कबाट गोन्द्राङ्सम्मको ३३ केभिएलाई मात्र पहिलो चरणका भूमिगत गरिने छ ।
सन् २०२४ को जनवरीसम्ममा काम सम्पन्न गर्ने गरी काम गरिएको भए पनि केही थप समय लाग्न सक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षको मसान्त सम्ममा विद्युतीकरण भूमिगत गर्ने काम सम्पन्न हुनेछ ।” भरतपुरका ११ किलोमिटर क्षेत्रमा विद्युत भूमिगत गर्न लागिएको हो । एशियाली बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।

- ADVERTISEMENT -