April 26, 2025

हेटौंडा सिमेन्टको उत्पादन तीन महिनादेखि बन्द

January 17, 2024
File photo.
- ADVERTISEMENT -

मकवानपुर / वर्षौँदेखि निरन्तर घाटा व्यहोर्दै आएको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन ३ महिनादेखि बन्द रहेको छ । आर्थिक संकटका कारण अझै सिमेन्ट उत्पादनमा कठिनाई भइरहेको उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले तु खबरलाई जानकारी दिए ।
उद्योग व्यवस्थापनले आर्थिक स्रोत जुटाउने प्रयास गरेको भएपनि तत्काल सम्भव नहुँदा कोइला खरिद गरी ल्याउन कठिनाई भएको र सोही कारणबाट उत्पादन बन्द भएको उनले बताए ।
उद्योगलाई हाल नियमित उत्पादन सुरु गर्न करिब ३ हजार मेट्रिक टन कोइला आवश्यक पर्ने र सो कोइलाले १ महिनासम्म सिमेन्ट उत्पादन गर्न सकिने उद्योगका नायव महाप्रबन्धक नविन कुमार कर्णले जानकारी दिए ।
अहिले सो उद्योगको भण्डारणमा करिब ६०० मेट्रिक टन मात्रै कोइला रहेकाले उत्पादन सुरु नगरिकएको जनाइएको छ ।
त्यस्तै उद्योगबाट उत्पादित २ लाख २५ हजार बोरा सिमेन्ट विक्रि हुन नसक्दा उद्योगलाई थप आर्थिक संकट आइपरेको कर्णले बताए ।
सरकारले केही अनुदान उपलब्ध गराएमा यथासिघ्र कोइला आपूर्ति गरी माघको अन्तिम साताबाट उत्पादन सुरु गरिने उद्योग व्यवस्थापनले जनाएको छ ।
विक्रम सम्वत २०३३ सालमा १ अर्ब लगानीमा स्थापना भएको हेटौंडा सिमेन्ट उद्योगले २०४३ साल मंसिर २६ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो ।

- ADVERTISEMENT -