April 25, 2025

चितवन घेदुङले भोलि शुभकामना आदानप्रदान तथा विशेष सम्मान कार्यक्रम गर्ने [with video]

January 31, 2024
शुभकामना आदानप्रदान कार्यक्रमको जानकारी दिँदै घेदुङका अध्यक्ष बाबुलाल थिङ (बीचमा) । तस्बिर : बिना तामाङ, न्यूजप्रवाह
- ADVERTISEMENT -

– बबिलाल तामाङ
चितवन / तामाङ समुदायहरुको छाता नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनले शुभकामना आदानप्रदान तथा विशेष सम्मान कार्यक्रम गर्ने भएको छ । मञ्जुश्री सम्वत २८६०औं सोनाम ल्होछारको अवसर पारेर माघ १८ गते उक्त कार्यक्रमको आयोजना गरिएको घेदुङ चितवनका अध्यक्ष बाबुलाल थिङ तामाङले जानकारी दिए ।
अध्यक्ष तामाङका अनुसार कार्यक्रममा घेदुङका पूर्वअध्यक्ष, तामाङ समुदायका चिकित्सक, पत्रकार, वकिल लगायतलाई सम्मान गरिने छ । उनले घेदुङलाई विभिन्न समयमा महत्वपूर्ण योगदान दिएका संघसंस्था र अन्य व्यक्तिलाई समेत सम्मान गरिने बताए ।
जिल्ला घेदुङले उक्त कार्यक्रममा सम्पूर्ण तामाङ समुदायलाई सहभागिताका लागि आह्वान समेत गरेको छ । सबैको साथ सहयोग अपेक्षा राख्दै आ–आफ्नो स्थानबाट सक्दो सहयोगको लागि अध्यक्ष तामाङले आग्रह समेत गरेका छन् । कार्यक्रम जिल्ला समन्वय समिति चितवनको हलमा हुने आयोजकले जनाएको छ ।
प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक उत्सव–२०८०
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवन र नेपाल तामाङ घेदुङ राप्ती नगर इकाई कमिटीको संरक्षकत्वमा ल्होछारकै अवसर पारेर चितवनको राप्तीमा प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक उत्सव–२०८० हुन गइरहेको जिल्ला अध्यक्ष तामाङले जानकारी दिए ।
श्री च्योमदेन दे ढा च्योम बौद्ध गुम्बा आयोजक रहेको उक्त साँस्कृतिक उत्सव माघ २४ गतेदेखि ७ गतेसम्म संचालन हुनेछ । राप्ती ९, वन गु्रप क्याम्पामा हुन गइरहेको उक्त उत्सव चार दिनसम्म चल्नेछ ।
नेपाल तामाङ घेदुङ केन्द्रीय सर्कुलर अनुसार यो पटक सोनाम ल्होछारलाई गाउँ केन्द्रित गरिएको उनको भनाइ छ । उनले चितवन जिल्लामै पहिलो पटक हुन गइरहेको साँस्कृतिक उत्सवले तामाङ जातिको पहिचानका लागि थप बल पुग्ने बताए ।
यसअघि जिल्ला घेदुङले माघ २२ गते नारायणी नदी किनारमा सोनाम ल्होछार मनाउने घोषणा गरेको थियो । चितवनका विभिन्न गुम्बा तथा तामाङ सम्बद्ध विभिन्न संघसंगठनहरुले भने माघ २७ गते नै सोनाम ल्होछार मनाउने तयारी तिब्र पारेको छ ।
यसैबीच नेपाल तामाङ घेदुङ संघीय सचिव गोमनसिंह तामाङले जिल्लाबाट हुने हरेक गतिविधिमा केन्द्रको पूर्ण सहयोग रहने बताएका छन् । संघीय सचिव तामाङले सोनाम ल्होछार मनाउँदा आर्थिक व्ययभार कम गरी तामाङ सेलो र आफ्नो संस्कृतिमा जोड दिन आग्रह गरेका छन् ।

- ADVERTISEMENT -