May 11, 2024

उपनिर्वाचन इलामको मतगणना ११ बजे सुरु

April 28, 2024
File photo.

इलाम / इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना आज (आइतबार) बिहान ११ बजेपछि हुने भएको छ । शनिबार भएको मतदानको गणना केही बेरअघि सम्पन्न सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार बिहान ७ बजेदेखि नै मतगणना गर्ने तयारी थियो तर सर्वदलीय बैठक हुन समय लागेकाले ११ बजेदेखि मात्र गणना गर्ने निर्णय भएको हो । इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृहमा मतगणना हुनेछ । गणनास्थलमा ११ वटा सिसी क्यामेरा जडान गरिएका छन् ।

मतगणना स्थलमा भीड हुन नदिन चोक बजारमा रहेको ‘डिस्प्लेबोर्ड’मा परिणाम सार्वजनिक गरिने छ । मतपरिणाम एक–एक घण्टाको अन्तरालमा सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो । उपनिर्वाचनमा ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो ।

शनिबार बिहान ७ साँझ ५ बजेसम्म भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३५ हजार एक सय ३५ पुरुष, ३४ हजार एक सय ५० महिला र दुई अन्यले मतदान गरेका छन् ।

विसं २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -