चितवन / जिल्लाका स्थानीय तह र सरकारी कार्यालयका सूचना अधिकारीहरू नै सूचनाबाट वञ्चित हुने गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनमा बुधबार आयोजित सूचना अधिकारीहरूको बैठकमा सहभागी सूचना अधिकारीले स्वयम् नै सूचनाको पहुँचभन्दा बाहिर रहनुपरेको बताएका हुन् ।
भरतपुर महानगरपालिकाका सूचना अधिकारी मेनुका पण्डितले आफूभन्दा माथिल्लो तहबाट समयमा सूचना प्रवाह नहुँदा सञ्चारकर्मीले सूचना मागेका बेला तत्काल दिन नसकेको अवस्था रहेको गुनासो गरिन् । माडी नगरपालिकाका सूचना अधिकारी प्रवीण भण्डारीले जनप्रतिनिधि भएका निकायमा सूचनाको पहुँचसम्म पुग्न सूचना अधिकारीलाई कठिन भएको दुखेसो पोखे ।
- ADVERTISEMENT -

कालिका नगरपालिकाका सूचना अधिकारी प्रकाशचन्द्र पौडेलले सूचना अधिकारीलाई कतिपय सूचना सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि मात्र थाहा हुने गरेको उनले बताए । कार्यालयको अन्य जिम्मेवारीसहित सूचना अधिकारीको भूमिकामा बस्दा निकै कठिन हुने गरेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी इन्द्रमणि भण्डारीले बताए ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सूचना अधिकारी आफू कार्यरत कार्यालयको कार्य प्रकृतिअनुसार सम्बन्धित पदाधिकारीबाट सूचना लिने, उजुरी पेटिकाको नियमित व्यवस्थापन गर्न सुझाए । सहभागी पत्रकारले सरकारी निकायका सूचना पाउन कठिन भएको गुनासो गरेका थिए ।