March 15, 2025
- ADVERTISEMENT -

नारायणीकिनारको पुनःनिर्माणको लागि सरोकारवालाबीच छलफल

October 3, 2024

चितवन । नारायणी नदीकिनारमा बाढीले पुर्याएको क्षति र व्यवस्थापनको लागि बुधबार सरोकारवालाबीच छलफल भएको छ ।

भरतपुर महानगरपालिका वडा नं–१ कार्यालयको आयोजनामा भएको कार्यक्रममा महानगरका उपप्रमुख चित्रसेन अधिकारी, उद्योग वाणिज्य संघ–चितवनका पदाधिकारी लगायतसँग छलफल गरेको हो । छलफलपश्चात् नदीकिनारमा भएको क्षति तत्काल मर्मत तथा पुनःनिर्माण गर्ने निर्णय गरिएको छ ।

भरतपुर–१ का वडा अध्यक्ष केशव महर्जनले नदीकिनारको मैदानमा बाढीले बनाएको खाल्डा महानगरले तत्कालै पुर्ने बताएका छन् । उनले भने, ‘नदीकिनारमा हुने व्यावसायिक गतिविधिबाट महानगरले कर लिने भएकाले मर्मत तथा पुनःनिर्माणको काम पनि महानगरले नै गर्ने छ ।’

वडाध्यक्ष महर्जनले भने, ‘प्रशोधन केन्द्रबाट नदीतर्फ निस्किएका पाइप फुटेका छन् । त्यो पनि तत्कालै मर्मत तथा जडान गर्ने कुरा भएको छ । तत्कालै गर्न सकिने काम तत्कालै गर्ने र बाँकी कामको दीर्घकालीनरुपमा योजना बनाएर काम गर्ने कुरा उपप्रमुखज्यूले गर्नुभएको छ ।’

फुटट्रेललगायतका संरचनाको काम भने प्राविधिकले क्षतिको मूल्याङ्कन गरेपछि गुरूयोजना बनाएर अघि बढ्ने तय भएको उनले बताए । त्यस्तै लीलाचोक, युरेसिया रेयुकाईपछाडि र जेसीज भवनपछाडि नदीकिनारको गरी तीनवटा सार्वजनिक शौचालयको मर्मतसम्भार पनि तत्कालै हुने भएको छ । बाढीले नदीकिनारका २० जना अव्यवस्थित बसोवासीको घरमा क्षति पु¥याएको छ । उनीहरुले वडासँग क्षतिपूर्ति माग गरेका छन् ।

वडाध्यक्ष महर्जनका अनुसार २६ जना अव्यवस्थित बसोवासी भने त्यहाँबाट सुरक्षित स्थानमा जान चाहेका छन् । महानगरले सुरक्षित ठाउँको बन्दोबस्त गरिदिए आफूहरु नदीकिनारबाट हट्न चाहेको भनी उनीहरुले जानकारी गराएको उनले बताए । बाढीले आधारभूत विद्यालय, गौरेश्वर पशपुति मन्दिर, सत्यसाई सेवा केन्द्र र वडा कार्यालयको तल्ला भागमा पनि क्षति पुर्याएको उनले बताए ।

- ADVERTISEMENT -