February 8, 2025
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनकै ठूलो महोत्सवको उद्योगमन्त्री भण्डारीद्वारा समुद्घाटन

‘स्थानीय तथा स्वदेशी उत्पादनको प्रदर्शन र बिक्रीलाई प्राथमिकता दिनुपर्छ’
January 10, 2025

चितवन / उद्योग वाणिज्य संघ चितवनको १५औं संस्करणको चितवन महोत्सव २०८१ सुरु भएको छ । नारायणी नदी किनारमा १५ दिनसम्म सञ्चालन हुने उक्त महोत्सवको उद्योग तथा वाणिज्य मन्त्री दामोदर भण्डारीले रोबोटिक प्रणालीबाट बिहीबार समुद्घाटन गरेका हुन् ।

मन्त्री भण्डारीले उद्घाटन पछि बोल्दै महोत्सवले आर्थिक चलायमान गराउन सहयोग पु¥याउने बताए । स्थानीय तथा स्वदेशी उत्पादनको प्रदर्शन र बिक्रीलाई महोत्सवमा प्राथमिकता दिनुपर्ने उनको आग्रह थियो ।

उनले स्वदेशी उत्पादनलाई बढाउनका सरकारले नयाँ केही गर्न खोजिरहेको बताउँदै विविध विषयमा केन्द्रित रहेर अहिले सरकारले छलफल गरिरहेको बताए । निजी क्षेत्रलाई व्यावसाय गर्न थप सहज बनाउन र विदेशी लगानी कर्तालाई आकर्षित गर्ने वातावरण तय गर्नतर्फ सरकार विशेष ध्यान दिएर लागिपरेको उनले बताए ।

बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण सिलवालले चितवन महोत्सवमा चितवनका उत्पादन छन् वा छैनन् भन्ने कुरा बढी महत्वपूर्ण हुने बताउँदै यसतर्फ सचेत हुन आयोजकलाई आग्रह गरे । चितवनका स्थानीयको जीवनस्तर उकास्न र यहाँको आर्थिक उन्नती गर्न यस महोत्सवले भूमिका खेलोस् भन्ने कामना गर्दै मन्त्री सिलवालले चितवनको महोत्सवको सफलताको शुभकामना व्यक्त गरे ।

महोत्सव मूल समितिका संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले महोत्सवका विविध विषयमा जानकारी गराएका थिए । महोत्सवले चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवद्र्धनमा टेवा पुर्याउनुका साथै चितवनको गरिमा र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने विश्वास लिइएको श्रेष्ठको भनाइ थियो ।

आर्थिक मन्दीका कारण विक्षिप्त बनेको अर्थ क्षेत्रलाई यस वर्षको महोत्सवले थप उर्जा दिने अपेक्षा समेत राखिएको उनले उद्घाटन समारोहमा जानकारी गराए । ‘चितवनको गौरव र गरिमामय प्रस्तुति’ को नारा लिएर सुरु गर्न लागिएको महोत्सवमा यसपटक पर्यटन प्रवद्र्धनलाई जोड दिइएको श्रेष्ठले बताए ।

यस क्षेत्रका पर्यटकीय स्थलसम्म जान र आउनका लागि सफारीका व्यवस्था, होमस्टेमा बसोबास गर्ने प्रबन्ध मिलाइने, पर्यटकीय क्षेत्रको वृत्तचित्र प्रस्तुत गर्नेजस्ता कामहरु गरिने श्रेष्ठले जानकारी गराए ।

अघिल्ला महोत्सवहरुमा पोल्ट्री, माछा, डेरी, तोरी, मौरी, मह, केरा लगायत उत्पादनलाई प्राथमिकता दिइएकोमा यस वर्ष पर्यटनलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि पर्यटकीय गतिविधि बढाउन सहयोग पुग्ने गरी यस वर्ष पर्यटनलाई प्राथमिकतामा राखिएको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

महोत्सव स्थलदेखि जिल्लाका विभिन्न पर्यटकीय स्थलसम्म जानका लागि ‘पार्टी बस’ समेत सञ्चालन गर्न लागिएको छ । पार्टी बसमा यात्रा गर्दा बसभित्रै विभिन्न परिकार खान पाइनेछ । यस अवधिमा भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पर्यटन व्यवसायीको समन्यवमा छुटको व्यवस्था समेत गरिने श्रेष्ठको भनाइ छ ।

महोत्सवमा स्थानीय उत्पादनलाई नै प्राथमिकता दिइएको अध्यक्ष श्रेष्ठ बताउँछन् । स्वदेशी र विदेशी उत्पादक तथा बिक्रेतासहित महोत्सवमा अन्तर्राष्ट्रिय व्यावसायिक प्रतिष्ठानको सहभागिता रहेको छ । यस वर्ष चीनका विभिन्न प्रतिष्ठानहरुको उत्पादन प्रदर्शनीमा राखिएको छ ।

उद्घाटन समारोहमा चितवनका पालिकामा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, प्रदेशमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, चितवनका पूर्व सांसद, राजनैतिक दलका जिल्ला नेताहरु, सामाजिक संघसंस्थाका प्रतिनिधि र स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

आज महोत्सवको उद्घाटन अघि बिहान ७ बजेबाट शोभा यात्रा निकालिएको थियो । शोभा यात्रामा विभिन्न जातजातीहरु आआफ्ना भेषभुषामा सजिएका थिए । विभिन्न सामाजिक संघ संस्था, जाती निकट संघसंस्था, विद्यालय, सुरक्षा निकायसहित विभिन्न क्षेत्रको प्रतिनिधित्व रहेको थियो ।

घोडा, हात्ती, बाजा गाजासहित निकालिएको शोभा यात्रा करिब २ किलोमिटरसम्म लामो बनेको थियो । नारायणगढको मेनरोड, मिलन रोड र बजारमा र्याली निकालिएको थियो ।

- ADVERTISEMENT -