April 30, 2025

कुलमान बर्खास्ती पेचिलो बन्दै, अवरोधकाबीच संसद् बैठक बस्दै

March 28, 2025
file photo.
- ADVERTISEMENT -

काठमाडौं / संघीय संसद भवन, नयाँ बानेश्वरमा आज (शुक्रबार) बिहान ११ः०० बजे प्रतिनिधिसभा बैठक बस्ने तयारी गरिएको छ । संघीय संसद सचिवालयका अनुसार बैठकका लागि सम्भावित कार्यसूची तयार पारिएको छ, जसअनुसार अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात, र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्बन्धित मन्त्रीहरूलाई मौखिक प्रश्नहरूको उत्तर दिनुपर्नेछ ।

साथै, ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक पनि आजको बैठकमा टेबुल गरिनेछ । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यक्रम छ भने ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खडकाले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्नेछन् ।

यसअघि हिजो बिहान ११ः०० बजेका लागि तय गरिएको बैठक दिउँसो २ः०० बजे सारिएको थियो । तर, बैठक बस्न नसकेपछि आज बिहान ११स्०० बजेसम्मका लागि स्थगित गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विपक्षमा विपक्षी दलहरूले संसद अवरुद्ध गर्दै आएका छन्, जसका कारण बैठक नियमित रूपमा सञ्चालन हुन सकेको छैन ।

सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकहरूसँग हिजो दिनभर छलफल गरे पनि सहमति जुट्न सकेको छैन । विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा उपस्थित भएर घिसिङ हटाउने निर्णयबारे स्पष्टिकरण दिनुपर्ने अडान लिएका छन् । तर, प्रधानमन्त्री ओलीले भने सरकारको निर्णयबारे संसदमा जवाफ दिनुपर्ने कुनै औचित्य नभएको बताएका छन् । सत्ता पक्ष र प्रतिपक्षबीच जारी गतिरोधका कारण संसद बैठक सुचारू हुने वा नहुने अझै अनिश्चित छ ।

- ADVERTISEMENT -