नेपालमा भर्खरैमात्र २२औँ राष्ट्रिय धान दिवस मनाइएको छ । मानो रोपेर मुरी फलाउने दिनको रुपमा हरेक वर्ष १५ असारलाई विशेष दिनको रुपमा मनाइने प्रचलन छ । नेपालमा तामझामपूर्वक धान दिवस मनाइँदै गर्दा हालसम्म भने जम्मा १४ प्रतिशतमात्रै रोपाइँ भएको छ । धान हाम्रोमात्र होइन संसारकै प्रमुख खाद्य बाली हो । भात हाम्रो प्रमुख आहार हो । भातबिनाको हाम्रो जीवन असम्भवजस्तै बन्न पुगेको छ । विश्व खाद्य कार्यक्रमले पनि धान नै जीवन हो भन्ने नाराका साथ कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । भात हाम्रो संस्कृति र निर्विकल्प आहार बनिसकेको परिप्रेक्षमा बर्सेनि खाद्यान्न आयात हाम्रो नियति बन्न पुगेको छ । कृषि विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा करिब १४ लाख २० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । यो क्षेत्रफलमा वार्षिक ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईको कुल भूभागको करिब ७० प्रतिशत, पहाडमा २६ प्रतिशत र हिमाली क्षेत्रमा पाँच प्रतिशत जग्गामा धानबाली लगाइने गरिन्छ । किसानले औसत ९० प्रतिशत जग्गामा रोपाइँ गर्छन् भने १० प्रतिशतमा धान छरेर खेती गर्छन् ।
नेपालमा गत वर्ष सबैभन्दा बढी धान उत्पादन भएको थियो । गत वर्ष कुल १४ लाख ९१ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख १० हजार मेट्रिकटन धान फलेको थियो । नेपालमा सरदरमा ३.३ मेट्रिकटन प्रतिहेक्टर धान फल्छ । यस अनुपातमा उत्पादकत्व हुँदा पनि चालु आर्थिक वर्षको ११ महिनामा मात्रै ५० अर्ब बढीको चामल आयात भएको देखिन्छ । नेपालमा अद्यापि परम्परागत धान खेती लगाउने चलन छ । आत्मनिर्भर बन्न आधुनिक प्रणाली आवश्यक पर्छ । आधुनिक खेती गर्ने छिमेकी मुलुक भारत र थाइल्याण्डको उत्पादकत्व दर ७ मेट्रिकटन र चीनको ८ मेट्रिकटन प्रतिहेक्टर छ । यस अनुपातमा नेपाल आधुनिक प्रणालीमा कति पछाडि छ भन्ने पुष्टि हुन्छ । नेपालमा जथाभावी प्लटिङ गर्ने र जग्गा बाँझो राख्ने प्रवृत्ति बढ्दो छ । नेपालमा बर्सेनि १० लाख मेट्रिकटन चामल अपुग भइरहँदा धानखेती घट्दो क्रममा रहेको छ । आवश्यक सिँचाइ, मल, बीउबिजन, यन्त्र र खेती गर्न आधुनिक सीपको अभाव रहँदै आएको छ । धानखेतीको प्रमुख हिस्सा मनसुनी वर्षामा भर पर्नुपर्ने अवस्था छ । मौसमकै भरोसामा धानखेती गर्नुपर्ने अवस्थामा राज्यले ठोस कार्यक्रम ल्याउन सकेको छैन ।
- ADVERTISEMENT -

कृषिमा आधुनिकीकरण र व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने कार्यक्रम नहुँदा बर्सेनि अर्बौं रुपैयाँ धान आयातमा खर्च गर्नुपर्ने नियति हाम्रो छ । धानमा आत्मनिर्भर हुन आधुनिक कृषि प्रणाली, उन्नत बीउबिजन, गुणस्तरीय मल तथा सिँचाइको व्यवस्था हुनैपर्छ । देशको कुल गार्हस्थ उत्पादनमा धानको योगदान सात प्रतिशतमात्र छ । यस्तै कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनमा ५५ प्रतिशत योगदान छ । नेपालमा धान निर्यात त परको विषय हो । तथापि उत्पादकत्व दर बढाउन सकिएमात्रै पनि परनिर्भरता न्यूनीकरण गर्न सकिन्छ । सर्वप्रथम तीनै तहका सरकारले कृषिभूमिको संरक्षण गर्नुपर्र्छ । त्यसपछि कृषि उपजको न्यूनतम मूल्य, बीमा, सहुलियत ऋणमा किसानको सहज पहुँच हुनुपर्छ । सिँचाइ, उन्नत बीउ, समयमै मल तथा यन्त्रको प्रबन्ध हुने हो भने किसानले आफ्नो पेसाप्रति गर्व गर्न सक्छन् । अनि कृषि पेसामा आकर्षित हुनेको संख्या पनि वृद्धि हुन्छ । प्रतिहेक्टर एक मेट्रिकटन उत्पादनमात्रै बढाउन सकिए पनि नेपाल धान÷चामलमा स्वतः आत्मर्निभर हुने देखिन्छ ।


















































