– एलिशा तिमिल्सिना
क्यानडा / ब्राम्टन शहर निवासी मृदुभाषी समाजसेवी सागर गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएन) क्यानाडाको आगामी कार्यकाल २०२५–२०२७ का लागि सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
- ADVERTISEMENT -

लामो समयदेखि नेपाली समुदायको सेवा र सशक्तिकरणमा क्रियाशील गुरुङले “एकतावद्ध नेपाली, सशक्त प्रवासी” भन्ने नाराका साथ आफ्नो उम्मेदवारी अघि सारेका हुन् । गुरुङले एनआरएन क्यानाडाको दृष्टिकोण, मिशन र उद्देश्यप्रति आफू पूर्ण प्रतिबद्ध रहेको जनाउँदै, क्यानडामा रहेका नेपालीहरूको हक, हित र पहिचानलाई अझ सुदृढ बनाउने अठोट व्यक्त गरेका छन् ।
नेपालीज कम्युनिटी नेटवर्क अफ क्यानडा (NRN) मा सक्रिय सदस्यका रूपमा कार्यरत गुरुङले नेपाली भाषा, संस्कृति र सामाजिक एकता प्रवर्द्धनमा उल्लेखनीय योगदान दिँदै आएका छन् । विशेषगरी ब्राम्टनमा स्थापना गरिएको सगरमाथा पार्क निर्माणमा उनको भूमिका उल्लेखनीय रहेको छ, जुन अहिले सम्पूर्ण क्यानडावासी नेपालीहरूको साझा गर्वको विषय बनेको छ ।
सामाजिक संघसंस्था र सरकारी निकायहरूसँग सहकार्य गर्दै नेपाली समुदायको हक र पहुँच अभिवृद्धिमा क्रियाशील गुरुङले एनआरएन क्यानाडाको माध्यमबाट सामाजिक, सांस्कृतिक र आर्थिक उन्नयनमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनको सकारात्मक सोच, दूरदृष्टि र सेवाभावप्रति व्राम्टन शहरका नेपाली समुदायले उत्साहजनक समर्थन जनाएका छन् । उम्मेदवारी घोषणासँगै नेपाली डायस्पोरामा सहभागिता र अग्रसरताको नयाँ आशा पलाएको देखिएको छ ।
एनआरएन क्यानाडा निर्वाचन २०२५–२०२७ नजिकिँदै गर्दा सागर गुरुङको उम्मेदवारीले नेपाली समुदायभित्र नयाँ उर्जा र जागरण ल्याएको छ ।
















































