काठमाडौं / विश्वको ध्यान केन्द्रित रहेको रुस(युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको उच्चस्तरीय वार्ता सकारात्मक सङ्केतका बीच कुनै ठोस सम्झौतामा नपुगी टुङ्गिएको छ ।
करिब साढे दुई घण्टा लामो गोप्य वार्तापछि दुवै नेता संयुक्त रूपमा करिब १० मिनेट मात्रै मिडियासामु देखा परेका थिए । दुवैले व्यक्तिगत वार्ता प्रगतिउन्मुख रहेको बताए पनि युद्ध रोक्ने विषयमा कुनै अन्तिम सहमति भने जुट्न सकेन ।
- ADVERTISEMENT -

पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा रुसी राष्ट्रपति पुटिनले आफू ‘सत्यनिष्ठ भएर’ युद्ध अन्त्य गर्न इच्छुक रहेको बताउँदै जारी द्वन्द्वलाई एक ठूलो ‘त्रासदी’ को रूपमा व्याख्या गरे । उनले द्वन्द्वको ‘मूल कारण’लाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै युक्रेन र युरोपेली मुलुकहरूलाई वार्ताको प्रक्रियाबाट पछि नहट्न चेतावनी समेत दिए । पुटिनका अनुसार, यो भेटवार्ता द्वन्द्व समाधानको दिशामा एक महत्त्वपूर्ण सुरुवात मात्र हो ।
पुटिनले सन् २०२० को अमेरिकी निर्वाचनमा आफू विजयी भएको भए युद्ध नै नहुने भन्ने ट्रम्पको भनाइप्रति सहमति जनाउँदै ट्रम्पसँगको आफ्नो सम्बन्धलाई व्यावसायिक भनेर टिप्पणी गरेका थिए । अर्कोतर्फ, अमेरिकी राष्ट्रपति ट्रम्पले वार्तामा केही प्रगति भए तापनि अझै केही महत्त्वपूर्ण विषयमा असहमतिहरू कायमै रहेको स्वीकार गरे । ‘सम्झौता नभएसम्म कुनै सम्झौता हुँदैन,’ ट्रम्पले भने, ‘धेरै बुँदामा हाम्रो सहमति भएको छ, तर केही विषय टुङ्गिन बाँकी छन् ।’
- ADVERTISEMENT -

यद्यपि, उनले कुन(कुन बुँदामा सहमति भयो र के बाँकी रह्यो भन्नेबारे खुलासा गरेनन् । ट्रम्पले छिट्टै नै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अन्य युरोपेली नेताहरूसँग टेलिफोनमा कुराकानी गर्ने जानकारी दिए । ‘अन्तिम निर्णय गर्ने जिम्मेवारी उहाँहरूकै काँधमा छ,’ ट्रम्पले थपे ।
वार्ताको अन्त्यमा दुवै नेताले भविष्यमा पुनः भेट्ने सङ्केत दिएका छन् । ट्रम्पले पुटिनसँग छिट्टै अर्को भेट हुन सक्ने सम्भावना व्यक्त गर्दा, पुटिनले जवाफमा ‘अर्को पटक मस्कोमा भेटौँला’ भनेका थिए । यो भेटले युद्ध अन्त्यका लागि कूटनीतिक ढोका खुला राखे पनि तत्कालै शान्तिको सम्झौता भने टाढा रहेको देखिएको छ ।















































