चितवन / नारायणगढमा तेस्रो संस्करणको “महिला उद्यमशिलता विकासमार्फत महिला सशक्तिकरण” भन्ने मूल नारासहित भदौ १९ देखि २३ गतेसम्म ‘चितवन महिला उद्यमी मेला–२०८२’ हुने भएको छ । चितवन उद्योग वाणिज्य संघको आयोजनामा उक्त भेला हुन लागेको मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
संघको प्रदर्शनी केन्द्रमा आयोजना हुने मेलामा चितवनसहित मकवानपुर, नवलपुर, तनहुँ, पोखरा लगायत वाग्मती प्रदेशका महिला उद्यमीहरुको सहभागिता रहनेछ। संघका पदाधिकारीका अनुसार मेलामा करीब ३० वटा स्टल रहनेछन्, जसमा घरेलु तथा लघु उद्योग, हस्तकला, कृषि सम्बन्धी उत्पादनहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछ ।
- ADVERTISEMENT -

एकल महिला, दुर्गम क्षेत्रका महिला उद्यमी र स्टार्टअपलाई निःशुल्क स्टल उपलब्ध गराइनेछ।मेलामा करिब १५ हजार दर्शकको अवलोकन हुने तथा ३० लाख रुपैयाँ बराबरको कारोवार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ। मेलाले महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सेवाको प्रचार–प्रसार गर्ने, महिलालाई उद्यमशिलतामा उन्मुख गराउँदै स्वरोजगार र रोजगारी सिर्जना गर्ने, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने र नयाँ व्यवसायिक सम्पर्क तथा साझेदारीको अवसर प्रदान गर्ने लक्ष्य राखिएको छ ।
कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय चितवन, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद् हेटौँडा, भरतपुर महानगरपालिकालगायतका संस्थाहरु सह–आयोजक तथा प्रवर्द्धकका रुपमा रहनेछन् । मेलाको क्रममा महिला उद्यमी बीच अनुभव आदान–प्रदान हुने, उद्यमशिलता सम्बन्धी गोष्ठी र राष्ट्रिय योग्यता प्रणालीसँग सहकार्यमा प्यानल डिस्कसन समेत आयोजना गरिनेछ। चितवन उद्योग वाणिज्य संघले यसअघि चितवन महोत्सव, कृषि मेला, सूचना प्रविधि मेला, घर बनाउने मेला जस्ता विभिन्न विषयगत प्रदर्शनी तथा महोत्सव आयोजना गर्दै आएको छ ।
संघका पदाधिकारीहरुका अनुसार महिला उद्यमी मेलाले महिलाको आर्थिक सबलीकरण, सामाजिक सशक्तिकरण र व्यवसायिक क्षमतावृद्धिमा उल्लेख्य योगदान गर्ने विश्वास गरिएको छ।









































