नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरू भइसकेको छ । जेनजी आन्दोलनका कारण सिर्जित विषम परिस्थिति र प्रतिकूल मौसमका कारण पहिलो ठूलो चाड बडादसैँ खासै उत्साहजनक हुन सकेन । यतिबेला स्थिति अलि सहज भएको अनुभूति गरिएको छ । तथापि सुरक्षा, बजार व्यवस्थापन, सार्वजनिक यातायातलगायतका क्षेत्रमा चुनौती भने यथावतै छ । आम नागरिकका लागि तिहार पनि सहज, सरल र उत्साहपूर्ण भने बन्न सकेको छैन । हाम्रा चाडपर्वहरु मौलिक संस्कृतिको पुनरावृत्तिका रुपमा रहेकाले यस पर्वले पारिवारिक मिलन र सामाजिक सद्भाव र साथीसंगीसँग भेटघाटजस्ता अवसर प्रदान गरेको छ । मन खुसी नभए पनि सकभर चाडपर्वहरुलाई बोझ र तनावका रुपमा होइन, उत्साह र उत्सवको रुपमा मनाउन सक्नुपर्छ ।
हाम्रो मुलुकमा दसैँ, तिहार, नेपाल सम्वत्, छठजस्ता चाडपर्वहरू हाम्रो मौलिक संस्कृति, परम्परा र सामूहिक भावनाले ओतप्रोत भएका हुन्छन् । चाडपर्व मनाउनुको धार्मिक तथा सांस्कृतिक महŒव रहेको हुन्छ । नेपालमा विशेष गरी धर्मभन्दा बढी आम मानिसले यसलाई संस्कृतिको रुपमा मनाउने गरेका कारण नेपाली चाडपर्वहरु निश्चित धर्म वा समुदाय विशेषमा मात्रै सीमित नभई सबैका साझा पर्व बन्दै गएका छन् । दसैँ र तिहार नेपाली समाजका आस्था, विश्वास र परम्परासँग जोडिएका छन् । देवी–देवताको पूजाआजा गर्ने, पिङ खेल्ने, दसैँको टीका, तिहारको देउसी–भैलो र भाइटीकाजस्ता गतिविधिहरू नेपालमै विकास भएका मौलिक परम्परा हुन् । यी पर्वले परिवार, नातागोता र छरछिमेकबीचको सम्बन्ध अझै बलियो बनाउन मद्दत पुग्नुका साथै वर्षौंदेखि टाढा रहेका परिवारका सदस्यहरू एकै ठाउँमा भेला भएर खुसी साँट्ने अवसरसमेत प्रदान गर्दछ । यसले नेपाली पहिचान जोगाउन पनि उत्तिकै भूमिका खेलेको हुन्छ ।
- ADVERTISEMENT -

चाडपर्वले दैनिक व्यस्त जीवनलाई विश्राम दिँदै नयाँ ऊर्जा र उत्साहसमेत प्रदान गरेको हुन्छ । सामूहिक उल्लासले समाजलाई सकारात्मक सन्देश प्रवाह गर्दछ । अर्थतन्त्र चलायमान हुन्छ । स्थानीय उत्पादनलाई प्रोत्साहन पुग्छ । हामीले आफ्ना संस्कृति र चाडपर्वलाई मात्रै आर्थिकरुपमा आत्मनिर्भर बनाउन सक्यौँ भने आत्मनिर्भर अर्थतन्त्र निर्माणमा पनि ठूलो योगदान पुग्छ । अहिलेको सन्दर्भमा तीनै तहको सरकारले शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन, सार्वजनिक यातायातलाई सहज बनाउन, बजार व्यवस्थापन र जुवातासलगायतका विकृति रोक्न पनि विशेष ध्यान दिनुपर्छ । यस पर्वमा छरछिमेकसँग देउसी–भैलो र भेटघाट गर्ने, आतिसबाजी वा ध्वनि प्रदूषण सीमित गर्ने, चाडपर्वलाई सुलभ र सहज बनाउने, जुवातास लगायतका विकृतिमा नफस्ने र फस्न नदिनेजस्ता काम जनस्तरबाट गरिनुपर्छ । तिहारलाई उल्लास, उज्यालो र सद्भावका साथ मनाऔँ । शुभ दीपावलीको सबैलाई हार्दिक मंगलमय शुभकामना !






























