२०८२ मंसिर २३, मंगलवार
December 9, 2025
२०८२ मंसिर २३, मंगलवार
December 9, 2025 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

बेचबिखनबारे सचेत होऔँ

प्रकाशित मिति : २०८२ कार्तिक १२ गते
sketch
- ADVERTISEMENT -

नेपालमा सुरक्षा निकायदेखि दर्जन बढी गैरसरकारी संस्थाले अभियान चलाए पनि रोजगारीका नाममा अवैध ओसारपसार र मानव बेचबिखन हुँदै आएको छ  । आकर्षक रोजगारी र धेरै पैसा कमाउने लालसा देखाएर विदेशमा लगेर बिचल्ली बनाउनेक्रम बढ्दै गएको छ । अवैध ओसारपसार र बेचबिखन गर्नेविरुद्ध सयौँ उजुरी प्रहरीमा दर्ता भएका छन्  । बेचबिखनको जोखिममा परेकाहरुलाई सीमा क्षेत्रबाटै उद्धार गरिँदै आए पनि प्रहरीले मुख्य आरोपीलाई पक्राउ गर्न सकिरहेको छैन । अधिकांश घटनामा युवालाई सीमा कटाउनुअघि नै अभियुक्त सुरक्षित स्थानमा पुगिसक्ने, पीडित भएकाहरुबाट पनि अभियुक्तको परिचय लुकाउने प्रवृत्तिले मानव बेचबिखन नियन्त्रणमा चुनौती बढेको छ  ।

सीमा क्षेत्रका बसपार्क तथा बेचबिखन बढी हुने स्थानहरुमा प्रहरीसहित विभिन्न संस्थाले निगरानी बढाउने गरे पनि मानव बेचबिखनको दर बर्सेनि बढिरहेको छ  । उच्च मनोकांक्षा भएका किशोरी र युवतीहरु बेचबिखनमा पर्ने गरेको तथ्यांकले देखाएको छ । घरपरिवारबाट हिंसामा परेका, चरम गरिबीले गाँजेका, अभिभावकविहीन, एकल महिला र छिट्टै विश्वासमा गर्ने युवतीहरु बेचबिखन तथा अवैध ओसारपसारको उच्च जोखिममा पर्ने गरेका छन्  । दलालले विभिन्न प्रलोभन देखाएर अवैध ओसारपसार गरी रोजगारीका लागि भन्दै खाडी मुलुकमा पु¥याउने गरेका छन्  । पहिले प्रेमको नाटक गरी बिहे गरेर भारतीय कोठीसम्म पु¥याएर बेच्ने दलाल थिए भने अहिले सरकारले प्रतिबन्ध लगाएका मुलुकहरुमा पु¥याएर बिक्री गर्ने गिरोहहरु बढेका छन् ।

- ADVERTISEMENT -

Advertisement

एउटै युवतीलाई दलालले स्वदेश हुँदै विदेशसम्म एकबाट अर्कोलाई बिक्री गर्छन् । अन्तिममा खरिद गर्नेले यौन शोषण, श्रम शोषण र चर्को यातना दिन्छन् । काठमाडौँदेखि बिक्री हुँदै दिल्ली, दुवई र कुवेतमा पुगेका थुप्रै युवतीको साझा समस्या यौनहिंसा र यातना नै हो । दलालको चंगुलमा फसेर आफ्नो जीवन नै बर्बाद बनाएका महिलाको पीडा प्रकाशमा आउने गरेको छ  । चेलीबेटी बेचबिखनविरुद्ध काम गरेका संस्थामा परेका निवेदनका आधारमा परराष्ट्र मन्त्रालय हुँदै कुवेतस्थित दूतावाससँग समन्वय गरी केही महिलाको उद्धार गरिए पनि बेचबिखनमा परेका कति महिला अलपत्र छन् ? त्यसको तथ्यांक कसैसँग छैन  । अवैध बाटो हुँदै पैसा कमाउने लोभमा दलालको फन्दामा परेका महिलाले भारत हुँदै तेस्रो देशमा पुग्ने गरेका कारण यसको तथ्यांक सरकारसँग छैन  । सुरूमा परिवारकै सल्लाहमा विदेश गएर अलपत्र परेपछि मात्रै प्रहरीमा उजुरी गर्ने प्रवृत्तिका कारण बेचबिखन बढ्ने गरेको छ  । मानव बेचबिखनको समस्याबारे जानकारी हुँदाहुँदै पनि प्रहरी र विभिन्न संस्थाको आँखा छलेर दलालको फन्दामा पर्नु जानीजानी मृत्युकुण्डमा हामफाल्नु जस्तै हो  । सरकारले प्रतिबन्ध लगाएका मुलुकमा जाने चाहना राख्नु नै पहिलो गल्ती हो  । त्यसैले बेचबिखनमा पर्नुअगावै स्वयम् सतर्क हुनु नै बुद्धिमानी कार्य हुनेछ  ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -