चितवन / जिल्ला प्रशासन कार्यालय चितवनले ८०२ व्यक्तिको घरमा खाना पकाउने ग्यासको सिलिन्डर पुर्याउन सहजीकरण गरेको छ । असहाय, अशक्त, अपाङ्ता भएका, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक र विद्यार्थीलाई सो सङ्ख्यामा ग्यास घरमा पुर्याइएको हो ।
गत एक सातामा प्रशासनको टोल फ्री नम्बरमा ग्यासको अभाव भएको गुनासो टिपाएका उपभोक्तालाई सहजीकरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार भरतपुर, पूर्वी चितवन तथा पश्चिम चितवन क्षेत्रमा ती ग्यास सिलिन्डर वितरण गरिएको हो । ग्यासको अभाव भएका आश्रमहरुमा समेत ग्यास पुर्याइएको छ ।
- ADVERTISEMENT -

उद्योगबाट ग्यास आउने, डिपोमा पुग्ने र डिपोबाट आम उपभोक्ताकोमा सहजरुपमा नपुग्ने गरेको गुनासो आएसँगै स्थानीय प्रशासनले ग्यास उद्योगदेखि खुद्रा व्यापारी सम्म अनुगमन गर्न सुरू गरेको प्रजिअ अर्यालले जानकारी दिए । उद्योगीले ग्यास पर्याप्त मात्रामा ल्याइएको बताए पनि उपभोक्ता लाइनमा बस्नुपर्ने बाध्यता देखिएका कारण उद्योगदेखि वितरणसम्मको अनुगमन गर्न लागिएको हो ।
प्रशासन कार्यालयका सहायक प्रजिअ चूडामणि शर्मा गौतमको नेतृत्वमा प्रहरीसहितको टोलीले बजार अनुगमन गरिरहेको छ । चितवनमा मासिक एक लाख २० हजार सिलिन्डर आवश्यक पर्ने भए पनि अहिले दैनिक ६ हजारदेखि सात हजारको हाराहारीमा वितरण हुँदा असहज भएकाले बजार अनुगमन सुरू गरिएको प्रजिअ अर्यालले बताए ।
अहिले जिल्लामा साइबाबा, बाबा र नेपाल ग्यास उद्योग रहेका छन् । ती उद्योगबाट यहाँका डिलरमा नियमित ग्यास पठाउँदै आइएको छ ।
बाबा ग्यास उद्योगका सञ्चालक विमल कालाखेतीका अनुसार यहाँका उद्योगहरुले चितवनसहित विभिन्न जिल्लाहरुमा ग्यास पठाउँदै आएका छन् । भरिएकामध्ये आधा चितवनमा र आधा बाहिर पठाइएको उनले बताए । बुलेटले ग्यास भर्दै आएको भारतको दुर्गापुरको रिफाइनरीमा समस्या आएपछि पारादीपबाट ग्यास भर्ने गरिएको छ । कालाखेतीका अनुसार दुर्गापुर दुई दिनमा पुगिन्छ भने पारादीप पुग्न चार दिन लाग्छ ।
यस्तै, ग्यास दिइरहेको बरौजी रिफाइनरीले समेत कम ग्यास दिएको र माग बढेकाले समस्या भएको हो । उनले भने, ‘केही समयलाई आधा सिलिन्डर भर्ने वा बरौजीबाट दिइने कोटा केही दिनलाई बढाउन सके समस्याको समाधान हुन्छ ।’ आवश्यकताअनुसार मात्रै सिलिन्डर साट्न र अतिरिक्त भण्डारण नगरे छिट्टै समाधान हुने उनको भनाइ छ ।

















































