चितवन / भरतपुर–११, भोजाडमा गत भाद्र १० गते रसुवाको टिमुरे, नुवाकोट, बेत्रावती र बेनीघाट क्षेत्रमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै विशेष दीप प्रज्ज्वलन तथा ‘मणिमोलाम’ पाठ सम्पन्न भएको छ ।
छेच्यू थर्पलिङ गुम्बा संस्था, भरतपुर नगर तामाङ समाज र मन्जुश्री म्हनिपा समूहको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा दिवङ्गत आत्माहरूको चीर शान्तिको कामना तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्ज्वलन र मौन प्रार्थना गरिएको हो ।
- ADVERTISEMENT -


अकल्पनीय प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्न स्थानीय सामाजिक तथा धार्मिक संस्थाहरूले ऐक्यबद्धता जनाउँदै उक्त कार्यक्रम गरिएको संस्थाका अध्यक्ष पञ्चबहादुर लामाले जानकारी दिए ।
कार्यक्रममा सहभागीहरूले विनाशकारी बाढीले पुर्याएको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका थिए । उनीहरूले बाढीमा परी ज्यान गुमाएका पवित्र आत्माहरूले मोक्ष प्राप्त गरून् र यो कठिन बज्रपात सहन सक्ने धैर्यता पीडित परिवारजनलाई मिलोस् भन्दै सामूहिक प्रार्थना गरे ।

बौद्ध परम्परा अनुसार गरिएको मणिमोलाम पूजा तथा दीप प्रज्ज्वलन कार्यक्रममा भरतपुर नगर तामाङ समाजका अध्यक्ष सूर्यप्रकाश लामा, पूर्वअध्यक्ष गंगा लामा, म्हाणिपा आमा समूहका अध्यक्ष पासाङ लामा, निवर्तमान अध्यक्ष चिनीमाया पाख्रिन, तामाङ समुदायका विभिन्न संघ–संगठनका प्रतिनिधि, स्थानीय समाजसेवी, बौद्ध धर्मप्रेमी तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो।

















































