चितवन । भरतपुर ११, वाइपासरोडस्थित आरम्भ कलेजले स्नातक तह पहिलो सेमेस्टरको नतिजामा उत्कृष्ट प्रदर्शन गर्दै लगातार चौथो पटक जिल्ला प्रथम (चितवन टपर) बन्न सफल भएको छ ।
कलेजका विद्यार्थीहरूले बि.एच.एम. (BHM) र बि.आइ.टी.एम. (BITM) दुवै सङ्कायमा उत्कृष्ट जिपिए (GPA) हासिल गर्दै यो सफलता दर्ता गराएका हुन् ।
- ADVERTISEMENT -

सार्वजनिक नतिजा अनुसार बि.एच.एम. (BHM) सङ्कायमा ३.९२ जिपिए र बि.आइ.टी.एम. (BITM) सङ्कायमा ३.९५ जिपिए ल्याएर आरम्भ कलेजका विद्यार्थीहरू जिल्लामै सर्वोत्कृष्ट बनेका छन् । साथै, कलेजकी छात्रा सुहानाले ३.९५ जिपिएका साथ देशभरिकै कुल नतिजामा नेपाल पाँचौँ स्थान हासिल गर्न सफल भएकी छिन् ।
कलेजको चौथो ब्याचको अभिमुखीकरण (ओरिएन्टेसन) कार्यक्रमका अवसरमा बोल्दै आरम्भ कलेजका प्राचार्य सुरज शिवाकोटीले विद्यार्थीहरूको यो अभूतपूर्व सफलताप्रति खुसी र गर्व व्यक्त गर्नुभयो । “हाम्रा भाइबहिनीहरूले निरन्तर मेहनत गरेर कलेजलाई चौथो पटक चितवन टपर बनाएका छन् ।
जिल्ला टपर मात्र नभई नेपालभरिमै पाँचौँ स्थान हासिल गर्नु सिङ्गो चितवनवासीकै लागि गौरवको विषय हो,“ प्राचार्य शिवाकोटीले भन्नुभयो, “चितवनलाई कर्मथलो बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अब्बल ठहरिने जुन सपना हाम्रा विद्यार्थीहरूले देखेका थिए, त्यो आज साकार हुँदै गएको छ ।“
उच्च शिक्षाका लागि काठमाडौँ वा विदेश नै धाउनुपर्ने बाध्यतालाई यो नतिजाले चिरेको प्राचार्य शिवाकोटीको भनाइ छ । उहाँले थप्नुभयो, “गुणस्तरीय शिक्षा (क्वालिटी एजुकेसन) का लागि अब चितवन छोडेर काठमाडौँ वा विदेश गइराख्नु पर्दैन भन्ने कुरा हाम्रा विद्यार्थीहरूले साबित गरिदिएका छन्। आरम्भ कलेजले शिक्षाको त्यो गुणस्तर र मानक (स्ट्यान्डर्ड) चितवनमै स्थापित गरेको छ ।“
चौथो ब्याचमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै उहाँले अग्रजहरूले कायम गरेको उत्कृष्टताको यात्रालाई निरन्तरता दिँदै आफ्ना सपनाहरू साकार पार्न प्रेरणा र शुभकामना व्यक्त गर्नुभयो ।

















































