चितवन / भरतपुर–७, कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीमा तेस्रो संस्करणको त्रिदिवसीय ‘अङ्कुरम्–नमुना संयुक्त राष्ट्रसंघीय कार्यक्रम’ भोलि ९शनिबार०देखि सुरु हुँदैछ ।
चितवनलगायत अन्य जिल्लाहरूबाट समेत १२ विद्यालयका दुई सय जना विद्यार्थीको सहभागिता रहने कार्यक्रममा संयुक्त राष्ट्र संघका छवटा कमिटीको प्रतिनिधित्व रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
- ADVERTISEMENT -

कार्यक्रमको उद्घाटन सत्र नवलपुर–१ का प्रतिनिधिसभा सदस्य राजन गौतमको प्रमुख आतिथ्यतामा हुने र कार्यक्रममा आदर्श गृह चितवनीसंस्थापक अध्यक्ष तथा नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष मीना खरेल, चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ प्रा.डा. अनिल आचार्य, डेजी स्कुलका प्रिन्सिपल प्रेम रिमाल, रिटायर्ड मेजर शैलजा श्रेष्ठ केसी, बेटर चितवनका संस्थापक अध्यक्ष सागर कार्की, पत्रकार विवेक पोखरेललगायतको विशिष्ट आतिथ्यतामा हुनेछ । कार्यक्रमले विद्यार्थीको रचनात्मक क्रियाकलाप तथा सर्वाङ्गीण विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्अन्तर्गत ‘उदीयमान रणनीतिक क्षेत्रहरूमा महत्वपूर्ण पूर्वाधारको सुरक्षाः अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामाथिका खतराहरूको सम्बोधन’, मानवअधिकारी परिषद्अन्तर्गत ‘अफगानिस्तानमा विद्यमान प्रणालीगत हिंसा र मानव अधिकार उल्लङ्घनको सम्बोधन’, संयुक्त राष्ट्रसंघको पर्यावरण कार्यक्रमअन्तर्गत एलनिनो र ला निनोसँग सम्बन्धित चरम मौसमी घटनाहरूविरुद्ध विश्वव्यापी जलवायु लचिलोपनको सुदृढीकरण’, संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनअन्तर्गत ‘उदीयमान प्रविधिहरूमार्फत द्वन्द्व र सङ्कटको अवस्थामा शिक्षाको अधिकारको संरक्षण’, विश्व स्वास्थ्य संगठनअन्तर्गत ‘चिकित्सा क्षेत्रका नवीन आविष्कारहरूमा असमान पहुँचका कारण सिर्जित विश्वव्यापी स्वास्थ्य असमानताको रोकथाम’ संयुक्त राष्ट्रसंघीय बालकोषअन्तर्गत ‘आर्टिफिसियल इन्टेलिजेन्स ९कृत्रिम बुद्धिमत्ता०को युगमा अनलाइन शोषणविरुद्ध बालबालिकाको सुरक्षा संयन्त्रको सुदृढीकरण’ विषयमा छवटै कमिटीका सभापति, उपसभापति र प्रतिनिधिहरूले अध्ययन, अनुसन्धान र छलफल गरी पारित गर्ने कार्यक्रम रहेको महासचिव प्रमोद थपलियाले जानकारी दिए ।
विद्यालयका प्रचार्य तथा कार्यक्रमका संरक्षक सुमन पौडेलका अनुसार नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास एक शैक्षिक कार्यक्रम हो जसले विद्यार्थी तथा युवाहरूलाई संयुक्त राष्ट्रसंघको कार्यशैली, कूटनीति तथा अन्तर्राष्ट्रिय सम्बन्धबारे विस्तृतरूपमा जानकारी दिन्छ । उनले भने, ‘यो नमुना कार्यक्रमले विद्यार्थीहरूमा नेतृत्व विकास, कूटनीतिक सीप अभिवृद्धि तथा तार्किक बहस गर्ने क्षमताको विकास गर्छ ।’


















































