Opens in a new tab
२०८३ आश्विन २५, आईतवार
October 11, 2026
२०८३ आश्विन २५, आईतवार
October 11, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

अण्डाको उत्पादन र खपत बढाउन सरोकारवालाको जोड

प्रकाशित मिति : २०८३ आश्विन २४ गते

चितवन / अण्डाको उत्पादन र खपत बढाउन सरकारी तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। मानव स्वास्थ्यका लागि आवश्यक विभिन्न पोषक तत्त्वको प्रमुख स्रोत अण्डाको उत्पादन वृद्धि गर्नुका साथै यसको महत्त्वबारे जनचेतना फैलाएर उपभोग बढाउनुपर्नेमा उनीहरूले जोड दिएका हुन्।

विश्व अण्डा दिवसको अवसरमा नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबार चितवनको भरतपुरमा आयोजना गरेको कार्यक्रममा सहभागीहरूले अण्डाको उत्पादन, बजारीकरण र उपभोग प्रवर्द्धनका लागि संयुक्त पहल आवश्यक रहेको बताएका हुन्।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले सरकारले आवश्यक सहयोग र सहजीकरण गरेमा नेपालमा अण्डाको उत्पादन वृद्धि गर्न सकिने बताए। अण्डाको उपभोग बढाउने अभियानलाई किसानको व्यवसायसँग जोड्दै यसबारेको सन्देश आम नागरिकसम्म पुर्‍याउनुपर्ने उनको भनाइ थियो।

उत्पादन लागतअनुसारको मूल्य पाउन थालेपछि कुखुरापालन व्यवसायमा किसानको आकर्षण बढ्न थालेको उल्लेख गर्दै पोखरेलले उचित मूल्य र बजार सुनिश्चित भए उत्पादनमा थप वृद्धि हुने बताए। भारतबाट भन्सार छलेर आउने अण्डाको आयात गत वैशाखदेखि रोकिएपछि नेपाली किसानले राहत महसुस गरेको पनि उनले जानकारी दिए।

- ADVERTISEMENT -

Advertisement

सरकारले विद्यालयको दिवा खाजामा हरेक दिन अण्डा समावेश गर्ने व्यवस्था गरेमा किसानका तर्फबाट प्रतिगोटा पाँच रुपैयाँ छुट दिन तयार रहेको पोखरेलले बताए। विद्यालयमा अण्डाको नियमित उपभोग सुनिश्चित गर्दा बालबालिकाको पोषणमा सुधार हुनुका साथै स्वदेशी उत्पादनको बजारसमेत विस्तार हुने उनको भनाइ थियो।

उनका अनुसार नेपालमा हाल दैनिक करिब ३८ लाख अण्डा उत्पादन हुँदै आएको छ। कोभिड–१९ महामारीअघिको अवस्थामा फर्कने लक्ष्यसहित दैनिक ६५ देखि ७० लाख अण्डा उत्पादन गर्ने दिशामा काम भइरहेको छ। चार वर्षअघि करिब १२० जना रहेका ठूला लेयर्स कुखुरापालक किसानको संख्या अहिले बढेर १८० पुगेको उनले बताए।

अण्डा उत्पादक किसानले प्रतिगोटा औसत १९ रुपैयाँ १२ पैसा उत्पादन लागत बेहोर्नुपर्ने अवस्था रहेको पोखरेलले जानकारी दिए। हाल ३० वटा अण्डा भएको एक क्यारेटको मूल्य करिब ६०० रुपैयाँ पुगेको छ। चार वर्षअघि उत्पादन गर्ने किसानको ठूलो हिस्सा व्यवसायबाट विस्थापित भएको उल्लेख गर्दै उनले बाँकी किसान संगठित भएर बजारीकरणमा सक्रिय भएपछि लागतअनुसारको मूल्य पाउने अवस्था बनेको बताए।

कार्यक्रममा पोषण विज्ञ डा. दिनेश गौतमले नेपालमा अन्य देशको तुलनामा अण्डाको उपभोग निकै कम रहेको तथ्यांक प्रस्तुत गरे। उनका अनुसार विश्वमा प्रतिव्यक्ति वार्षिक औसत १८५ वटा अण्डा खपत हुने गरेको छ। एसियामा यो संख्या १८७ र दक्षिण एसियामा ८७ छ। नेपालमा भने प्रतिव्यक्ति वार्षिक औसत ६९ वटा मात्रै अण्डा खपत हुने गरेको उनले बताए।

तथ्यांकअनुसार भारतमा प्रतिव्यक्ति वार्षिक ११२, श्रीलंकामा १३२, बंगलादेशमा १३७ र पाकिस्तानमा ४८ वटा अण्डा खपत हुने गरेको छ। अफ्रिकामा प्रतिव्यक्ति वार्षिक औसत खपत ४० वटा रहेको गौतमले जानकारी दिए।

उनका अनुसार नेपालमा सन् २०१५ मा प्रतिव्यक्ति वार्षिक ६० वटा अण्डा खपत हुने गरेकामा अहिले बढेर ६९ पुगेको छ। यस अवधिमा अण्डाको खपत १५ प्रतिशतले बढेको भए पनि जनसंख्या वृद्धि ६ प्रतिशत रहेको उनले बताए। विश्वमा सबैभन्दा बढी अण्डा उत्पादन गर्ने देश चीन हो भने भारत दोस्रो स्थानमा छ। यी देशको उदाहरण दिँदै गौतमले नेपालमा पनि उत्पादनसँगै उपभोग वृद्धि गर्ने नीति आवश्यक रहेको बताए।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डा. रामानन्द तिवारीले अण्डाको उत्पादन बढाउनु मात्रै पर्याप्त नहुने भन्दै यसको उपभोग विस्तारमा पनि ध्यान दिनुपर्ने बताए। सरकारले अण्डाको प्रयोग बढाउन प्रचारात्मक कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै उनले किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि ऐन जारी गर्ने तयारी भइरहेको जानकारी दिए।

प्रस्तावित व्यवस्थामा किसानका सन्तानलाई छात्रवृत्ति, कृषि ढुवानीका साधनलाई छुट्टै नम्बर प्लेट तथा किसान र उनीहरूका परिवारलाई यातायातमा छुट दिनेजस्ता विषय समेटिएको उनले बताए। कृषि पेसालाई सम्मानित र आकर्षक बनाउँदै किसानलाई प्रोत्साहित गर्ने सरकारको लक्ष्य रहेको उनको भनाइ थियो।

वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले अण्डा प्रोटिनको स्रोत मात्रै नभई शरीरको वृद्धि, विकास र समग्र स्वास्थ्यका लागि आवश्यक विभिन्न पोषक तत्त्वको महत्त्वपूर्ण स्रोत भएको बताए। उच्च गुणस्तरको प्रोटिन सहज र तुलनात्मक रूपमा सुलभ मूल्यमा प्राप्त गर्न सकिने भएकाले अण्डाको पोषणसम्बन्धी महत्त्वबारे आम नागरिकलाई सही जानकारी दिन आवश्यक रहेको उनले उल्लेख गरे।

उनका अनुसार एउटा अण्डामा करिब ६ ग्राम प्रोटिनका साथै भिटामिन ए, बी समूह, डी र ई, फोलेट, फस्फोरस, सेलेनियम तथा जिंकजस्ता पोषक तत्त्व पाइन्छन्। अण्डाको पहेँलो भागसमेत खान मिल्ने उल्लेख गर्दै उनले दुई वर्ष उमेर पूरा भएका बालबालिकालाई अण्डा खुवाउन सकिने बताए। अण्डाबाट विभिन्न परिकार बनाउँदा पोषणको महत्त्वलाई ध्यान दिनुपर्ने उनको सुझाव थियो।

युसेक अमेरिकन सोयका कन्ट्री मार्केट लिड डा. अशेष भट्टराईले नेपालमा अण्डाको उत्पादन र बजारीकरणका क्षेत्रमा आफूहरूले सहयोग गर्दै आएको बताए। निजी क्षेत्र र सरकारी निकायबीचको साझेदारीबाट मात्रै अण्डाको उत्पादन तथा खपत दुवै बढाउन सकिने उल्लेख गर्दै उनले अण्डाको पोषणसम्बन्धी गुणबारे आम नागरिकलाई जानकारी गराउनुपर्नेमा जोड दिए।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले विद्यालयको पाठ्यक्रममा अण्डाको पोषणसम्बन्धी महत्त्व समावेश गर्नुपर्ने, विद्यालयको दिवा खाजामा यसको नियमित प्रयोग बढाउनुपर्ने र किसानले उत्पादन लागतअनुसारको मूल्य पाउने वातावरण सरकारले निर्माण गर्नुपर्ने सुझाव दिएका थिए। अण्डाको उत्पादन, बजार व्यवस्थापन र उपभोगलाई एकीकृत रूपमा अघि बढाउन सके पोषण सुधारसँगै नेपाली कुखुरापालन व्यवसायलाई समेत दिगो बनाउन सकिने उनीहरूको निष्कर्ष थियो।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.32
173.99
UK Pound Sterling
1
204.55
205.35
Swiss Franc
1
185.92
186.64
Australian Dollar
1
107.83
108.25
Canadian Dollar
1
108.57
108.99
Singapore Dollar
1
120.68
121.15
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.15
41.31
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.62
UAE Dirham
1
42.06
42.23
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.56
Swedish Kroner
1
15.51
15.57
Danish Kroner
1
23.19
23.28
Hong Kong Dollar
1
19.69
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.11
410.70
Omani Rial
1
401.24
402.80