काठमाडौं / नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को आधिकारिक ‘लिस्ट ए टी–२०’ मान्यता पाउने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आगामी कात्तिक ९ गतेदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगिताका सम्पूर्ण खेलले उक्त मान्यता पाउनेछन्।
आईसीसीको ‘लिस्ट ए टी–२०’ मान्यता प्राप्त भएसँगै एनपीएलमा खेलाडीले गर्ने प्रदर्शन आधिकारिक टी–२० तथ्यांकमा समावेश हुनेछ। यसले खेलाडीको व्यक्तिगत प्रदर्शनलाई अन्तर्राष्ट्रिय स्तरमा अभिलेख राख्न र नेपाली क्रिकेटको पहिचान विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
क्यानका सचिव पारस खड्काले एनपीएलले आईसीसीको आधिकारिक मान्यता प्राप्त गर्नु नेपाली क्रिकेटको विकास र व्यावसायिकताका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ। यसले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धि गर्न थप योगदान पुर्याउने उहाँको भनाइ छ।
- ADVERTISEMENT -

एनपीएलको तेस्रो संस्करण कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा यसपटक पनि आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
आईसीसीको आधिकारिक मान्यतासँगै एनपीएलका खेलाडीको प्रदर्शनले अन्तर्राष्ट्रिय क्रिकेट तथ्यांकमा स्थान पाउने भएकाले प्रतियोगिताको महत्त्व थप बढ्ने देखिएको छ।















































