चितवन / सूर्यदेव र छठी माताको आराधना गरी मनाइने छठ पर्वका लागि चितवनको नारायणी नदी किनारमा तयारी तीव्र पारिएको छ । छठ पर्व शुक्रबारदेखि विधिवत् सुरु भएसँगै भरतपुरस्थित नारायणी नदी किनारमा छठघाट व्यवस्थापन, सरसफाइ तथा सजावटको कामलाई तीव्रता दिइएको हो ।
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिनलाई ‘नहाय–खाय’ भनिन्छ । यस दिन व्रतालुहरूले नदी, पोखरी तथा अन्य जलाशयमा स्नान गरी शुद्ध भएर लसुन र प्याजरहित शाकाहारी भोजन गर्ने परम्परा रहेको तराई सामुदायिक सेवा समितिका उपाध्यक्ष नारदप्रसाद परिहस्तले जानकारी दिनुभयो ।
पर्वको दोस्रो दिन अर्थात् पञ्चमी तिथिलाई ‘खरना’ भनिन्छ । यस दिन व्रतालुहरूले दिनभर निराहार व्रत बसेर साँझ पूजाआजा गरी प्रसाद ग्रहण गर्ने गर्छन् । छठको मुख्य दिन षष्ठी तिथिमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व विधिवत् सम्पन्न हुने परिहस्तले बताउनुभयो ।
यस वर्ष छठको मुख्य पूजा आइतबार परेको छ । सोहीअनुसार नारायणी नदी किनारमा छठ पूजा गर्न आउने श्रद्धालुहरूको सुविधालाई ध्यानमा राख्दै स्नानघाट व्यवस्थित बनाउने, नदी किनार तथा पोखरीको डिल सरसफाइ गर्ने र पूजास्थललाई सुरक्षित तथा उज्यालो बनाउने काम भइरहेको उहाँले बताउनुभयो ।
- ADVERTISEMENT -

तराई सामुदायिक सेवा समितिका अध्यक्ष जयकिशोर पाण्डेका अनुसार नारायणी नदी किनारको छठघाट व्यवस्थापन, सरसफाइ र सजावटको काम अन्तिम चरणमा पुगेको छ । छठघाटलाई आकर्षक बनाउन टेन्ट तथा पण्डाल निर्माणसँगै झिलिमिली बत्ती जडान गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
पाण्डेका अनुसार पछिल्लो समय छठ पर्व तराई समुदायमा मात्र सीमित नरही पहाडी तथा अन्य समुदायका मानिसहरूले समेत श्रद्धापूर्वक मनाउन थालेका छन् । छठघाट व्यवस्थापनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाबाट चन्दा र सहयोगसमेत प्राप्त भइरहेको उहाँले बताउनुभयो ।
यसैबीच, छठ पर्व नजिकिएसँगै बजारमा पूजाका सामग्री किनमेल गर्नेहरूको चहलपहल बढेको छ । पूजाका लागि आवश्यक बाँसका नाङ्लो, डालो, सुपली, टोकरी, माटोका कलश तथा दियो, पूजासामग्री र प्रसादका रूपमा प्रयोग हुने उखु, फलफूल, मिठाई, हरियो तरकारीलगायतका सामग्री खरिद गर्नेको भीड बजारमा देखिन थालेको छ । साथै गहुँको पिठो, चिनी, तेल तथा नयाँ लत्ताकपडाको बिक्रीसमेत बढेको व्यवसायीहरू बताउँछन् ।
सत्य, अहिंसा, शुद्धता र प्रकृतिप्रतिको सम्मानको सन्देश दिने छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने परम्परा छ । यस पर्वले धार्मिक आस्था, सामाजिक सद्भाव र आपसी एकतालाई समेत बलियो बनाउँदै आएको छ ।
















































