काठमाडौं / सूर्यदेवको श्रद्धा, निष्ठा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइने चार दिवसीय महापर्व छठ आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै हर्षोल्लासका साथ सम्पन्न भएको छ ।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म विधिपूर्वक मनाइने यस पर्वको अन्तिम दिन व्रतालुहरूले नदी, पोखरी तथा विभिन्न जलाशयका किनारमा पुगेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका छन् । गाईको दूध, फूल र पवित्र जलसहित सूर्यदेवको पूजा आराधना गर्दै अर्घ्य दिएपछि छठ पर्वको धार्मिक विधि पूरा भएको छ ।
छठको समापन र ‘भिन्सरघाट’ पूजा
छठ पर्वको अन्तिम दिन बिहान नदी वा पोखरी किनारका घाटहरूमा गरिने विशेष पूजालाई ‘भिन्सरघाट’ भनिन्छ । सूर्योदयको समयमा व्रतालुहरू चिसो पानीमा डुबेर सूर्यको दर्शन गर्दै निष्ठापूर्वक अर्घ्य अर्पण गर्छन् । यससँगै चार दिनदेखि कठोर नियम र निष्ठाका साथ जारी व्रतालुहरूको उपवाससमेत समापन हुन्छ ।
धार्मिक विश्वास र महत्त्व
पृथ्वीमा रहेका सम्पूर्ण जीवको जीवन सञ्चालन र संरक्षणमा जल तथा सूर्यको भूमिका अतुलनीय मानिन्छ । यसै विश्वासका आधारमा नदीलाई माताका रूपमा र सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानेर छठमा विशेष पूजा गर्ने प्रचलन छ ।
- ADVERTISEMENT -

दीर्घायु र सुख–समृद्धि ः यस अवसरमा विवाहित महिला तथा पुरुषहरूले आफ्नो जीवनसाथीको दीर्घायु र परिवारको सुख, शान्ति एवं समृद्धिको कामना गर्छन् ।
मनोकामना पूर्तिस् अविवाहिताहरूले सुयोग्य वर वा वधु प्राप्तिको कामना गर्छन् भने सन्तान प्राप्ति तथा तिनको सुख र स्वास्थ्यका लागि समेत यो पर्व निष्ठापूर्वक मनाइन्छ । छठको व्रत बस्नाले मनले चिताएको मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।
चार दिनसम्मको कठोर नियम
कार्तिक शुक्ल चतुर्थीको दिन स्नान गरी चोखो खाना खाएर सुरु हुने यो व्रत सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन हुन्छ । पर्व अवधिभर व्रतालुहरूले माछा, मासु, लसुन, प्याज, कोदो, फापर, मुसुरोलगायतका तामसिक भोजन पूर्ण रूपमा त्याग्ने कडा नियम पालना गर्छन्। विशेषगरी महिलाहरूले कठिन उपवास र नियमको पालना गर्दै यो पर्वलाई अगाध आस्थाका साथ मनाउने गर्दछन् ।













































