चितवन / भरतपुरस्थित नारायणी नदीकिनारमा दोस्रो संस्करणको ‘नारायणी महोत्सव २०८३’ आयोजना हुने भएको छ । रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा आगामी मंसिर २ गतेदेखि १७ गतेसम्म महोत्सव सञ्चालन हुन लागेको हो ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा महोत्सव संयोजक विक्कल क्षेत्रीले यस वर्षको महोत्सवलाई थप आकर्षक, व्यवस्थित र मनोरञ्जनात्मक बनाउने गरी तयारी भइरहेको जानकारी दिए । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।
यस वर्षको महोत्सवमा पिरामिड शैलीको आकर्षक प्रवेशद्वार, हट एयर बेलुन, जिरो ग्र्याभिटी राइडलगायतका नयाँ आकर्षण थपिने भएका छन् । विशेषगरी हट एयर बेलुनले महोत्सवमा दर्शकको आकर्षण बढाउने आयोजकको अपेक्षा छ । उक्त गतिविधि आवश्यक अनुमति र सुरक्षा मापदण्ड पूरा गरेर सञ्चालन गरिने संयोजक क्षेत्रीले बताए ।
हालैको बाढी तथा वर्षाका कारण नारायणी नदीकिनारमा बालुवा, गेगर र ढुङ्गा थुप्रिनुका साथै विभिन्न स्थानमा खाल्डाखुल्डी बनेका थिए । महोत्सव सञ्चालनका लागि आयोजकले आफ्नै स्रोत, साधन र लगानीमा मेसिनरी तथा जनशक्ति परिचालन गरी नदीकिनारको पुनःस्थापना, सरसफाइ, जमिन सम्याउने र सौन्दर्यीकरणको काम सम्पन्न गरेको जनाएको छ ।
- ADVERTISEMENT -

नदीकिनारलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउँदै पर्यटन तथा सार्वजनिक गतिविधिका लागि उपयोगी क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले पुनःस्थापनाको काम गरिएको उनको भनाइ छ ।
महोत्सवमा बालबालिका, युवा तथा परिवारका सबै सदस्यलाई लक्षित गरी विभिन्न मनोरञ्जनात्मक खेल, राइड तथा गतिविधि सञ्चालन गरिनेछ । त्यस्तै, व्यापारिक स्टल, प्रदर्शनी कक्ष, स्थानीय उत्पादन, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, होटल तथा रेस्टुरेन्ट र विभिन्न खानाका परिकारसमेत रहनेछन् ।
महोत्सवले स्थानीय व्यवसायी, उद्यमी तथा साना व्यवसायीलाई आफ्ना उत्पादन र सेवाको प्रचारप्रसार तथा बिक्री वितरणका लागि अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।
आन्तरिक पर्यटन प्रवर्द्धनसँगै भरतपुर र समग्र चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउने लक्ष्य महोत्सवले राखेको छ । स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायलाई प्रोत्साहन गर्ने, कलाकार तथा सांस्कृतिक प्रतिभालाई अवसर दिने र स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यसमेत रहेको उनले बताए ।
उनले महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बन्धित सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा ट्राफिक प्रहरीसँग समन्वय गरिनेछ भने सवारीसाधन व्यवस्थापन, पार्किङ, पैदल यात्रुको आवागमन, सरसफाइ, प्राथमिक उपचार तथा आपत्कालीन व्यवस्थापनलाई विशेष प्राथमिकता दिइने बताए ।
रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रा.लि.ले नारायणी नदीकिनारको पुनःस्थापना र महोत्सवलाई भरतपुरको पर्यटन, व्यापार तथा मनोरञ्जन प्रवर्द्धनसँग जोडिएको साझा अभियानका रूपमा अघि बढाएको जनाएको छ ।
१६ दिनसम्म सञ्चालन हुने महोत्सवले नारायणी नदीकिनारलाई मनोरञ्जन, व्यापार र पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।
















































