April 18, 2024

उत्तरी इराकमा आक्रमण, १३ सुरक्षाकर्मीको मृत्यु

September 5, 2021
File Photo : google

इराक / किर्कुक प्रान्तमा इस्लामिक स्टेट (आइएस) ले शनिबार राति प्रहरी चौकीमा आक्रमण गरेको छ । उक्त घटनामा कम्तीमा १३ सुरक्षाकर्मीको मृत्यु भएको इराकको प्रान्तीय प्रहरी स्रोतले आइतबार पुष्टि गरेको हो । उक्त घटनामा ६ सुरक्षाकर्मी घाइते भएको बताइएको छ । प्रहरी मेजर अब्बास अल–ताइले सिन्ह्वालाई बताएअनुसार आईएस आतंकवादीले शनिबार रात बगदादबाट लगभग २५० किलोमिटर उत्तरमा पर्ने प्रान्तीय राजधानी किर्कुकको दक्षिणमा अल–राशाद शहरको एउटा गाउँमा सङ्घीय प्रहरी चौकीमा आक्रमण गरेका छन् ।
अल–ताइ भने– “चौकीमा भएको आक्रमण पछि उनीहरूले गाउँतर्फ जाने सडक छेउमा शक्तिशाली विस्फोट गराएका र त्यही विष्फोटमा परी १३ प्रहरी मारिएका छन् भने अरू छ जना घाइते भएका छन् ।” आक्रमणपछि उक्त क्षेत्रमा थप सुरक्षाकर्मीलाई तैनाथ गरिएपछि आक्रमणकारी घटनास्थलबाट भागेका थिए ।
सरकारले सुरक्षा फौजको सहयोगमा कब्जा गरेकोे प्रान्तमा इराकी सुरक्षा बलमाथि विगत केही महिनायता आइएस समूहले आक्रमण तीव्र पारेको थियो । यस क्रममा दर्जनौँ सुरक्षाकर्मी सर्वसाधारण र आइएस लडाकू समेतको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् ।
सन् २०१७ मा इराकी सुरक्षा फौजले इराकी आइएस समूहलाई पराजित गरेपछि इराकको सुरक्षा स्थिति मजबुत रहँदै आएको महशुस गरिएको थियो । तथापि, सुरक्षा बल तथा नागरिक विरुद्ध बारम्बार गुरिल्ला आक्रमण गरेर शहरी केन्द्र वा मरुभूमि र पहाडी क्षेत्रमा आइएसले आफ्नो अस्तित्व देखाउने प्रयास गर्दै आएको छ । -एजेन्सी

- ADVERTISEMENT -