March 29, 2024

हत्या गरी गाडिएको एक वर्षपछि शव फेला

September 16, 2020
फोटो : तेमाल अनलाइनबाट ।

नवलपुर / पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका १८ हुर्चिल (साविकको रतनपुर) का ४२ वर्षीय धनबहादुर सुगरपार्कको हत्या भएको एक वर्षपछि गाडिएको अवस्थामा कंकाल भेटिएको छ ।
धनबहादुरको हत्या भएको आशंकामा उनकी श्रीमतीलाई प्रहरीले पक्राउ गर्‍यो । सोधपुछका क्रममा सुगरपार्कलाई हत्या गरी गाडिएको रहस्य खुल्यो ।
अभियुक्तले भनेकै स्थान घरबाट झण्डै एक किलोमिटर टाढा सुन्दरी सामुदायिक बनमा मंगलबार प्रहरीले उत्खनन् गरी मानव कंकाल फेला पारेको छ ।
प्रहरीले प्रारम्भिक अनुसन्धानपछि उत्खनन् गरी निकालिएको कंकाल परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले बताए ।
के थियो घटना ?
सुगरपार्क एक वर्षअघि घरबाटै बेपत्ता भएका थिए । तर, परिवारले बेपत्ता भएको कहिँकतै खबर गरेनन् । २०७६ असार २० गतेदेखि धनबहादुर बेपत्ता भएको परिवारले खबर नगरेपछि गाउँलेलाई थाहा हुने कुरा भएन ।
महिनौँसम्म पनि धनबहादुर नदेखिएपछि स्थानीयले शंका गर्नु स्वाभाविक थियो । घटनाको १४ महिनापछि स्थानीयको मौखिक उजुरीकाआधारमा प्रहरीले धनबहादुरकी पत्नी फूलमायाँलाई सोधपुछका लागि बोलायो ।
प्रहरीको फेला परेपछि फूलमायाले हत्या गरेको स्वीकारिन् । उनले हत्यामा आफूमात्र नभएको भेद खोलिन् । स्थानीय ४० वर्षका मेखबहादुर सुनारीकोसमेत उक्त प्रकरणमा संलग्न रहेको फूलमायाले प्रहरीलाई बयान दिइन् ।
फूलमायाकै बयानका आधारमा धनबहादुरको हत्या भएको १४ महिनापछि मेखबहादुरलाई पनि प्रहरीले पक्राउ गर्‍यो ।
अर्कैको श्रीमानसंग लहसिएकी फूलमायाले आफ्नो सम्बन्धबारे थाहा पाएपछि धनबहादुरलाई हत्या गर्ने योजना बनाइन् । फूलमाया र मेखबहादुरले धनबहादुरलाई घरमै हत्या गरी नजिकैको सामुदायिक बनमा लगेर धनबहादुरलाई गाडे ।
दुई जनाको सम्बन्धका बारेमा धनबहादुरले थाहा पाएपछि उनीहरुले हत्या गरी जंगलमा लगेर शव गाडेको थिए ।
नगरपालिकाको दुर्गम पहाड
पूर्वपश्चिम राजमार्गको भेडाबारीबाट झण्डै पाँच घण्टाको पैदल यात्राबाट मात्रै घटनास्थल पुग्न सकिन्छ । साविकको पहाडि गाविस रतनपुर हुर्चिल अहिलेको गैंडाकोट नगरपालिकाको १८ नम्बर वडामा पर्दछ ।
हुर्चिल पुग्ने पहाडी कच्चीबाटो भएकाले वर्षामा हिडेर पुग्न समेत निकै मुश्किल पर्दछ । पहाडी गाउँ पातलो बस्ती एक गाउँबाट अर्को गाउँ पुग्नसमेत घण्टौं हिड्नुपर्ने बाध्यता रहेको ठाउँमा नगर प्रहरीको पहुँच पुग्दैन ।
प्रहरीसँगको बयानमा फूलमायाले मेखबहादुरसँग मिलेर आफ्नो पतिको हत्या गरी शव गाडेको बताएपछि सोही बयानका आधारमा प्रहरीले मंगलबार शव गाडेको स्थानमा खनेर अस्थिपञ्जर निकालेको थियो ।
यहि भदौ २९ गते पक्राउ परेका फुलमाया सुगुरपाक र मेखबहादुर सुनारीलाई नवलपुर जिल्ला अदालतबाट १० दिनको म्याद थपसमेत गरी कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता खाँडले बताए ।
प्रहरीले मुलुकी अपराध संहिता २०७४ को भाग २ परिच्छेद १२ को ज्यान सम्बन्धी कसुर मुद्दामा कारबाही अघि बढाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -