चितवन । भरतपुर प्रदर्शनी केन्द्रमा चितवन उद्योग संघ र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले आयोजना गरेको राष्ट्रिय गाई प्रदर्शनी प्रतियोगितामा रत्ननगर–१५, माधवपुरका अर्जुन ढकालको गाई पहिलो भएको छ । कामना कृषि तथा पशुपक्षी फार्ममा पालिएको ढकालको होलस्टेन जातको लैनो गाई निर्णायकहरुले छुट्याएको २४ वटा आधारमा उत्कृष्ट ठहरिएको हो ।
कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरका सहायक प्राध्यापक डा. गोकर्ण गौतमको संयोजकत्वमा चार जना निर्णायकहरुले मूल्याङ्कन गर्दा कुल चार सय अङ्कमा ३६२ अङ्क प्राप्त गर्दै ढकालको गाई पहिलो भएको हो । गाईपालक ढकाललाई प्रोत्साहनस्वरुप पहिलो पुरस्कारबापतको नगद २० हजार राशिसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
- ADVERTISEMENT -

प्रतियोगितामा भरतपुर–२० मा रहेको शिवानी कृषि तथा पशुपक्षी फार्मबाट शिवप्रसाद पौडेलको गाईले दोस्रो स्थान हासिल गरेको छ । पौडेलले दोस्रो पुरस्कारस्वरुप नगद १५ हजार राशिसहित प्रमाणपत्र प्राप्त गरेका छन् । पौडेलको गाईले कुल अङ्कमा ३५३ दशमलब ५ अङ्क प्राप्त गरेको थियो ।
यस्तै, तेस्रो स्थानका लागि भने रत्ननगर–१५ मा रहेको कालिका पशु विकास केन्द्रबाट चेतप्रसाद ढकालको गाईले पुरस्कार पाएको छ । ढकालको गाईले ३५२ अङ्क प्राप्त गर्दै तेस्रो पुरस्कारस्वरुप नगद १० हजार राशिसहित प्रमाणपत्र प्राप्त गरेको छ । प्रदर्शनीमा कुल १७ वटा गाई राखिँदा पदम तिवारीले भरतपुर–५ मा सञ्चालन गरेको नोभा कृषि फार्म र भरतपुर–१६ मा गोपी ढकालले सञ्चालन गरेको ढकाल पशुपालनको गाई उत्कृष्ट पाँचमा परेको थियो ।

















































