काठमाडौं / अमेरिका र इरानबीच चर्किएको सैन्य द्वन्द्वमा वासिङ्टनले ठूलो आर्थिक भार बेहोर्नुपरिरहेको छ । युद्ध सुरु भएको पहिलो ६ दिनको छोटो अवधिमै अमेरिकाले ११ अर्ब ३० करोड डलर (करिब १५ खर्ब नेपाली रुपैयाँभन्दा बढी) खर्च गरिसकेको विवरण सार्वजनिक भएको छ ।
अमेरिकी रक्षा मन्त्रालय ९पेन्टागन० का अधिकारीहरूले मंगलबार क्यापिटल हिलमा सांसदहरूलाई दिएको गोप्य ब्रिफिङका क्रममा यो तथ्याङ्क प्रस्तुत गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । यद्यपि, यो खर्च अनुमानित मात्र भएको र वास्तविक व्ययभार योभन्दा निकै उच्च हुन सक्ने विश्लेषण गरिएको छ । न्युयोर्क टाइम्सका अनुसार हाल सार्वजनिक गरिएको खर्चमा युद्धअघिको सैन्य तयारी, उपकरणहरूको तैनाथी र जनशक्ति परिचालनको खर्च समावेश गरिएको छैन । पेन्टागनले थप हिसाब मिलान गर्दा यो अंक अझै बढ्ने निश्चित देखिएको छ ।
- ADVERTISEMENT -

यसअघि पनि रक्षा अधिकारीहरूले कंग्रेसका विभिन्न बैठकमा युद्धको सुरुवाती ४८ घण्टामै ५ अर्ब ६० करोड डलर बराबरको गोला(बारुद र अत्याधुनिक हतियार प्रयोग भएको जानकारी दिएका थिए । विश्लेषकहरूका अनुसार युद्धको पहिलो १०० घण्टामा औसत प्रतिदिन करिब ८९ करोड डलर खर्च भएको देखिन्छ ।
प्रारम्भिक आक्रमणका क्रममा एजीएम(१५४ जस्ता महँगा ‘ग्लाइड बम’ प्रयोग गरिएका छन्, जसको एउटैको मूल्य ५ लाख ७८ हजारदेखि ८ लाख ३६ हजार डलरसम्म पर्ने रोयटर्सले जनाएको छ । युद्धको बढ्दो खर्चलाई मध्यनजर गर्दै अमेरिकी सेनाले अब तुलनात्मक रूपमा सस्ता हतियार तथा ‘ज्वाइन्ट डाइरेक्ट अट्याक म्युनिसन’को प्रयोग बढाउने रणनीति लिएको छ । यस्ता हतियारको मार्गदर्शन किट करिब ३८ हजार डलरमा तयार हुने बताइन्छ ।
गत फेब्रुअरी २८ देखि अमेरिका र इसराइलले इरानमाथि संयुक्त हवाई आक्रमण सुरु गरेपछि युद्धले उग्र रूप लिएको हो । यस द्वन्द्वमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित धेरै उच्च अधिकारीहरू मारिएको दाबी गरिएको छ । हालसम्म झण्डै दुई हजार मानिसले ज्यान गुमाइसकेका छन्, जसमा अधिकांश इरानी र लेबनानी नागरिक रहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धमा अमेरिकाको विजय भइसकेको दाबी गरे पनि सैन्य अभियान तत्काल नरोकिने संकेत दिएका छन् । यसैबीच, ह्वाइट हाउसले युद्धका लागि थप ५० अर्ब डलरको विशेष बजेट माग गर्ने तयारी गरेको छ ।











































