काठमाडौं / आन्तरिक विवादका कारण लामो समयदेखि तनावमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) औपचारिक रूपमा विभाजित भएको छ । पार्टीका महामन्त्री धवल शमशेर राणासहित १८३ जना नेता तथा कार्यकर्ताले बिहीबार पार्टी त्यागेको घोषणा गरेका छन् ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा राणाले पार्टीबाट अलग भएको घोषणा गर्दै छिट्टै नयाँ राजनीतिक दल गठन गर्ने जानकारी दिए । उनले पछिल्ला चार वर्ष पार्टीभित्र सकसपूर्ण अवस्था रहेको र आफ्नो पक्षका आवाजलाई बेवास्ता गरिएको आरोप लगाए ।
- ADVERTISEMENT -

पार्टी परित्याग गर्ने नेताहरूमा उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशवराज श्रेष्ठ तथा कार्यसम्पादन समिति सदस्य नारायणप्रसाद कोइराला रहेका छन् । यसैगरी, यसअघि प्रवक्ताको जिम्मेवारीबाट हटाइएका सगुन सुन्दर लावतीले पनि पार्टी छाडेका छन् ।
राप्रपाभित्र अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री राणाबीचको लामो समयदेखिको मतभेद अन्ततः विभाजनमा परिणत भएको हो । दुवै पक्षबीच विगत चार वर्षदेखि संगठनात्मक र वैचारिक विषयमा विवाद हुँदै आएको थियो ।
- ADVERTISEMENT -

संस्थापन पक्षले राणा सक्रिय राजतन्त्रको पक्षमा उभिएको, संवैधानिक राजतन्त्रलाई समर्थन गर्ने पार्टीको आधिकारिक नीतिविपरीत गएको तथा संगठन कमजोर बनाउन खोजेको आरोप लगाउँदै आएको थियो । यता राणा पक्षले भने अध्यक्ष लिङ्देनले स्वेच्छाचारी शैलीमा पार्टी सञ्चालन गरेको र फरक मत राख्ने नेता–कार्यकर्तामाथि कारबाहीको नीति अपनाएको आरोप लगाएको छ ।
गत चैतमा राणाको नेतृत्वमा काठमाडौंमा आयोजित भेलाले एक साताभित्र महाधिवेशनको मिति घोषणा गर्न माग गरेको थियो । भेलाले अध्यक्ष लिङ्देनलाई तीन बुँदे पत्र बुझाउँदै जेठ महिनाभित्र महाधिवेशन गर्ने गरी मिति तोक्न आग्रह गरेको थियो । तर, संस्थापन पक्षले उक्त मागअनुसार महाधिवेशन नबोलाएपछि विवाद थप चर्किएको थियो ।
राणा पक्षको बहिर्गमनसँगै राप्रपाको आन्तरिक संकट अब औपचारिक विभाजनमा परिणत भएको छ । नयाँ पार्टी गठनको तयारीसँगै नेपालको राजावादी राजनीतिक धारमा नयाँ समीकरण बन्ने संकेत देखिएको छ ।











































