चितवन / भरतपुर अस्पतालमा चाडपर्वपछि बिरामीको चाप बढेको छ । लामो बिदा, खानपानमा आएको परिवर्तन तथा नियमित स्वास्थ्य परीक्षण र औषधि सेवनका लागि आउने बिरामीको संख्या बढ्दा अस्पतालमा सेवाग्राहीको भीड लागेको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार अस्पतालमा सामान्य अवस्थामा दैनिक ३ हजारदेखि ३ हजार ५०० जनासम्म नयाँ बिरामी उपचारका लागि आउने गरेका छन् । विशेषगरी बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म अस्पतालमा अत्यधिक भीड हुने गरेको उनले बताए ।
उनका अनुसार असारदेखि असोजसम्म बिरामीको चाप उच्च रहने गरेको छ । यस अवधिमा दैनिक ३ हजार ८०० जनासम्म बिरामी आएको रेकर्ड छ । चाडपर्वपछिको समयमा पनि बिरामीको चाप सोही अनुपातमा रहेको उनले जानकारी दिए ।
बिरामीको चाप बढ्दै गए पनि अस्पतालमा जनशक्तिको अभाव प्रमुख चुनौती बनेको छ । मन्त्रिपरिषद्बाट ५०० शय्याको अस्पतालका रूपमा स्वीकृति पाए पनि सोहीअनुसारको दरबन्दी प्राप्त हुन नसकेको डा। बगालेले बताए ।
- ADVERTISEMENT -

अस्पतालमा चिकित्सकसहित स्थायी दरबन्दीमा कुल १७५ जना मात्रै कार्यरत छन् । ५०० शय्याको स्वीकृति पाएको ३–४ वर्ष बितिसक्दा पनि नयाँ दरबन्दी सिर्जना नहुँदा आवश्यक जनशक्ति अस्पताल विकास समितिमार्फत व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको उनले बताए । उनका अनुसार हाल ५०० शय्याको स्वीकृति भए पनि १०० शय्याका लागि मात्र दरबन्दी संरचना रहेको छ, जुन पर्याप्त छैन ।
अस्पतालमा बढ्दो भीड व्यवस्थापन गर्न प्रविधिको प्रयोगलाई पनि प्राथमिकता दिइएको छ । अनलाइन टिकट प्रणाली प्रभावकारी बनाइएको उल्लेख गर्दै डा। बगालेले दैनिक ३०० देखि ४०० जनासम्मले अनलाइनमार्फत टिकट काट्ने र भुक्तानी गर्ने गरेको बताए ।
अनलाइन सेवाका कारण टिकट काट्न लामो समय लाइनमा बस्नुपर्ने बाध्यता कम भएको छ । यसका साथै बिरामीले आफ्ना स्वास्थ्य परीक्षणका रिपोर्ट मोबाइलबाटै हेर्न तथा आवश्यक परे मेसिनमार्फत प्रिन्ट गर्न सक्ने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ ।

















































