चितवन / नारायणी नदी किनारमा जारी दोस्रो ‘नारायणी महोत्सव–२०८३’ मा दिनप्रतिदिन दर्शकको आकर्षण बढ्दै गएको छ । राष्ट्रिय तथा स्थानीय कलाकारका सांगीतिक प्रस्तुतिले महोत्सवस्थलमा उत्साह थपिरहेका छन् ।
महोत्सवको नवौँ दिन आज (बुधबार) चर्चित गायक विशाल सोनी र गायिका अन्जु कुश्मीले आफ्नो सांगीतिक प्रस्तुति दिने भएका छन् । महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक राजेश भुजेलका अनुसार कलाकारद्वयले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछन् ।
आफ्ना सुमधुर स्वर र लोकप्रिय गीतका कारण दर्शकमाझ परिचित सोनी र कुश्मीको प्रस्तुतिले नारायणी किनारको माहोल थप संगीतमय र उत्साहपूर्ण बनाउने अपेक्षा गरिएको छ । उनीहरूका चर्चित गीतमा दर्शक झुम्ने र महोत्सवस्थल संगीतमय बन्ने आयोजकको विश्वास छ ।
महोत्सवमा दिनहुँ राष्ट्रिय कलाकारको प्रस्तुतिसँगै दर्शकको उल्लेख्य सहभागिता बढिरहेको छ । सांगीतिक कार्यक्रमका अतिरिक्त नारायणी कला मन्दिर नारायणगढका कलाकार तथा विभिन्न आदिवासी जनजातिका मौलिक सांस्कृतिक प्रस्तुतिले पनि महोत्सवको रौनक बढाइरहेका छन् ।
- ADVERTISEMENT -

रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रा.लि. को आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् चितवनको सहआयोजनामा मंसिर ३ गतेदेखि सुरु भएको महोत्सव मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।
महोत्सव परिसरमा विभिन्न व्यापारिक स्टल, बाल उद्यान, जिरो ग्र्याभिटी राइड, ३६० डिग्री राइड तथा आकर्षक पिरामिड गेट दर्शकका थप आकर्षण बनेका छन् ।
आयोजकले महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी भरतपुरको पर्यटन, व्यापार तथा आर्थिक गतिविधि प्रवर्द्धन गर्ने साझा उत्सवका रूपमा अघि बढाएको जनाएको छ । बाढीका कारण क्षतिग्रस्त बनेको नारायणी नदी किनारलाई आफ्नै लगानीमा सम्याएर तथा व्यवस्थापन गरेर महोत्सव सञ्चालन गरिएको आयोजकको भनाइ छ ।
महोत्सवमा सहभागी भई सांगीतिक तथा सांस्कृतिक कार्यक्रमको अवलोकन गर्न आयोजकले चितवनसहित आसपासका जिल्लाका सर्वसाधारणलाई आग्रह गरेको छ ।

















































