April 20, 2025

लागु औषधसहित दुईजना पक्राउ

April 30, 2020
- ADVERTISEMENT -

हेटौंडा । तेल बोक्ने ट्यांकरमा लुकाइ ल्याएको लागु औषधसहित २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा ट्याङ्कर चालक मकवानपुर थाहा नगरपालिका–४ घर भइ हेटौंडा ४ डेरा गरी बस्ने ३३ बर्षीय मानबहादुर थोकर र हेटौंडा ४ का ४५ वर्षीय सेते लामा रहेका छन् ।
भारतको रक्सौलबाट तेल बोकेर काठमाडौं जादै गरेको ना ३ ख ६४६६ नम्बरको टयाङ्करबाट लागु औषध बरामद भएको हो ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहाको टोलीले हेटौंडा १५ रातोमाटेमा जाँचका क्रममा तेल निकाल्ने लकिङ्ग बक्समा लुकाएको अवस्थामा १५५ बोतल विनसिरेक्स बरामद गरेको हो ।
पक्राउ परेका उनीहरुलाई लागु औषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी निरीक्षक सुजन पाठकले बताएका छन् ।
लकडाउनको अवधिमा यसअघि अत्यावश्यक भन्दै दुध बोकेको अटो र स्कुटरबाट घरेलु मदिरा बरामद गरेको थियो । मकवानपुर प्रहरीले लकडाउनका समयमा लागु औषध कारोबार र ओसार प्रसार बढ्न सक्ने भन्दै लकडाउनमा गुडेका सवारीको चेकजाँचमा कडाइ गरेको छ ।

- ADVERTISEMENT -