भरतपुर । राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाले तामाङ समुदायका पत्रकारहरुका लागि पत्रकारिता क्षेत्रमा निकै चुनौती भएको बताएका छन् ।
तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनको ‘तामाङ पत्रकारिता चितवन’ २०७८ स्मारिका विमोचन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उपमेयर लामाले तामाङ समुदायका पत्रकारहरुले पत्रकारिता क्षेत्रमा निकै चुनौती सामना गर्नुपरेको बताएका हुन् ।
राज्यले पत्रकारिता क्षेत्रलाई राष्ट्रको महत्वपूर्ण चौंथो अङ्गको रुपमा लिए पनि यो क्षेत्रलाई लगानी गर्न नसकेको उपमेयर लामाको जिकिर थियो । उनले भने, ‘पत्रकारिता क्षेत्र निकै दुःख र चुनौतीपूर्ण पेसा हो । अझै पनि विज्ञापन र सहयोगदाताकै भरमा मिडिया सञ्चालन गर्नुपर्ने बाध्यता रहेकाले राज्यले यसतर्फ ध्यान केन्द्रित गनुपर्छ ।’
उनले पत्रकारहरुलाई उद्देश्य प्राप्तिका लागि धैर्यवान हुन पनि सुझाए । उद्देश्य प्राप्तिको लागि कामको निरन्तरता भए सफलता प्राप्त हुने उनको धारणा थियो ।
तामाङ पत्रकार संघ चितवनले छोटो समयमा नै तामाङ समुदायको दस्तावेजका रुपमा स्मारिका प्रकाशन गरेकोमा खुशी व्यक्त गर्दै भविष्यमा धेरै गतिविधि गर्न सक्ने संकेत गरेको उनको भनाइ थियो ।
स्थापनाकालदेखि नै संघलाई नैतिक तथा आर्थिक सहयोग गर्दै आएको बताउँदै उनले अबका दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । स्मारिका प्रकाशनले तामाङ समुदायको रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने र सँगसँगै धर्म, संस्कृति र पहिचान जगेर्नाका लागि थप बल पुग्ने उनले बताए । पछिल्लो समय तामाङ समुदायमा तामाङ भाषाको समस्या भएकोले यसतर्फ पनि जोड दिनुपर्ने उनको जिकिर थियो ।
कार्यक्रममा चितवनलाई कार्यथलो बनाएर विगत २३ वर्षदेखि पत्रकारिता पेसा अपनाएका चितवन पोष्ट दैनिक प्रमुख सहसम्पादक केशव भट्टराईलाई सम्मानित गरिएको थियो । विगत दुई दशक बढी पत्रकारिता क्षेत्रमा योगदान पु¥याएको र स्मारिका प्रकाशनमा महŒवपूर्ण योगदान गरेकाले पत्रकार भट्टराईलाई सम्मान गरिएको थियो । उनलाई नगदसहित सम्मानपत्रले सम्मानित गरिएको थियो ।
सोही अवसरमा अन्य आठ जना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा तीन जना संस्थागत, पाँच जना दश हजार बढी सहयोग गर्ने दाता रहेका छन् । संस्थागततर्फ तामाङ पत्रकार संघ बागमती प्रदेशका उपाध्यक्ष ज्ञानेन्द्र तामाङ, तामाङ पत्रकार महासंघ केन्द्रीय सचिव उर्गेन तामाङ र केन्द्रीय सदस्य राजेश रुम्बा तामाङ सर्वसम्मत चयन भएकोमा संघका अध्यक्ष बबिलाल तामाङ र प्रमुख अथिति राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाले संयुक्तरुपमा सम्मान गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि लामालाई सम्मान स्वरुप तामाङ समुदायको संस्कृति झल्किने टोपीलाई सिसामा फ्रेमिङ गरी मायाको चिनो प्रदान गरेको थियो ।
कार्यक्रममा समापन मन्तव्य व्यक्त गर्दै अध्यक्ष बबिलाल तामाङले संघले छोटो समयमा तामाङ स्मारिका प्रकाशन गरेको र समाजलाई योगदान गरेका पत्रकारलाई सम्मान गर्ने कार्यको थालनी गरिएको बताउँदै आगामी दिनमा अन्य रचनात्मक कार्यक्रम गर्दै संघलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । तामाङ स्मारिका प्रकाशनका क्रममा सहयोग गर्ने विज्ञापनदाता, शुभेच्छुक एवं सहयोगी महानुभावहरुमा आभार प्रकट गरे ।