April 25, 2025

नारायणी कला मन्दिरले ‘रोपाइँ जात्रा’ निकाल्ने

September 4, 2023
- ADVERTISEMENT -

चितवन / नारायणी कला मन्दिर नारायणगढले परापूर्व कालदेखि मनाइँदै आएको रोपाइँ जात्रा निकाल्ने भएको छ । हरेक वर्ष मनाउँदै रोपाइँ जात्रा पर्सि बुधबार (भदौ २० गते) श्रीकृष्ण जन्माष्टमीको दिनमा मनाउन लागेको आइतबार प्रेस सम्मेलन मार्फत कला मन्दिरका अध्यक्ष सुविर श्रेष्ठले जानकारी दिए ।
धान रोप्ने काम सकिएको खुसीयालीमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीकै दिन रोपाइँ जात्रा मनाउने प्रचलन छ । यो वर्ष पनि चितवनको नारायणी कला मन्दिरले भव्यताका साथ रोपाइँ जात्रा मनाउन लागेको आइतबार पत्रकार सम्मेलनमा मार्फत जानकारी दिइएको हो ।
रोपाइँ सकेको उपलक्ष्यमा खुसीयाली मनाउँदै नाचगान गरेर यो पर्व मनाउने प्रचलन छ । यो जात्रामा धान रोपाइँमा धान रोपेझैं गरी नाच्ने र गाउने गरिन्छ । भाद्र कृष्ण प्रतिपदाका दिनलाई मुल दिन मानेर गाइजात्राबाट सुरु भएको यो जात्रा एकसाता सम्म चल्ने र कृष्ण अष्टमीको दिन विसर्जन गर्ने परम्परा छ ।
सुरुवाती समयमा नेवार समुदायले निकै धुमाधामका साथ मनाउने रोपाइँ जात्रा पछिल्लो समयमा नेवार समुदायलगायत अन्य समुदायको पनि बाक्लो उपस्थिति हुने गरेको नारायणी कला मन्दिरका पूर्व अध्यक्ष अमरदेव प्रधानले जानकारी दिए ।
नाटकीय शैलीमा प्रदर्शन गर्दै ठट्टा रमाइलो गर्दै मनोरञ्जन गर्ने अवसरको रुपमा रोपाइँ जात्रा मनाउने गरिएको नारायणी कला मन्दिरका पूर्व अध्यक्ष प्रभात कुमार जोशीले बताए । रोपाइँ जात्रामा व्याङ्गात्मक प्रस्तुती समेत हुने उनले बताए । ‘विगतदेखि नै नहरमाथि रोपाइँ गर्ने भनेर व्यङ्ग गरिन्थ्यो,’ उनले भने ‘रोपाइँ जात्रा सरकारलाई व्यङ्ग प्राहर गर्ने माध्यम समेत हो ।’ नेवार समुदायले व्यापार बढाउनका लागि समेत रोपाइँ जात्रा निकाल्ने गरेको उनले बताए ।
रोपाइँ जात्रामा भगवान राम, सिता सहितका विभिन्न भगवानमा सजिएका मानिसहरुको उपस्थिती रहने बताईएको छ । जात्राको मुल्यांकन समेत गरिने बताइएको छ ।
अहिले पहाडी क्षेत्रमा रोपाइँ जात्रा लोप हुँदै गएको छ । चितवनमा पनि हराउँदै जाने अवस्थामा रहेको जोशीले बताए । अहिले नारायणी कला मन्दिरले विभिन्न संघ सस्था र व्यक्तिको सहयोगबाट जात्रा निकाल्दै अएको छ । त्यो पनि विगत जस्तो उत्साहा नभएको जोशीको दावी छ ।
दैनिक जीवनमा भोग्दै आएको चिन्ता, असन्तोष र पीडालाई हस्यौली र ठट्यौलीका रुपमा पोख्न पाइने हुँदा रोपाइँ जात्राले जीवनलाई सहज बनाउन सहयोग पुग्ने विश्वास रहेको रोपाइँ जात्रा संयोजक हरिकुमार राजभण्डारीले जानकारी दिए । रोपाइँ जात्रा खेतमा रोपाई सकेपछि क्वाँटी खाएर जीवनलाई नयाँ स्फुर्तिका साथ कृष्णअष्टमीको दिन मनाउने गरिन्छ ।
यस पटक नारायणी कला मन्दिरबाट निस्किने रोपाइँ जात्रा बालकुमारी स्कुल चोक, भृकुटीपथ, जोसिस चोक, मिलन रोड, लिलाचोक, दियालो रोड, पोखरा बसपार्क, गणेश चोक, प्रगतीपथ हुँदै बालकुमारी स्कुल चोक भएर नारायणी कला मन्दिर पुगेर समापन हुने संयोजक राजभण्डारीले जानकारी दिए जानकारी दिए ।
उनका अनुसार रोपाइ जात्रा दिउँसो ३ बजे निकालिने छ । त्यस अघि विहान आठ बजे सर्वसाधरणलाई जात्रामा सहभागी हुन आह्वान गर्नका लागि हो पाँचो हो निकालिने अध्यक्ष सुविर श्रेष्ठले जानकारी दिए । नारायणी कला मन्दिरले २०४८ सालदेखि नियमित रुपमा रोपाइ जात्रा निकाल्दै आएको छ । चितवनमा विगतमा घरघरबाट जात्रा निकालिन्थ्यो । पछि उद्योगसंघ चितवनले गर्दै आएको थियो । उद्योग संघ चितवनले जात्राको आयोजना गर्न छाडेपछि नारायणी कला मन्दिरले नियमित रुपमा गर्दै आएको छ ।

- ADVERTISEMENT -