चितवन / गायिका एलिना चौहानको ‘कट्टा हान्दिन्छु’ बोलको गीत पछिल्लो समय निकै चर्चामा छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो गीतलाई थप प्रचार पुगेको छ । केही समयअघि ‘धोकेबाज हौ तिमी’ बोलको गीतले चर्चित बनेकी गायिका चौहान पछिल्लो समय कट्टा हान्दिन्छु बोलको गीतबाट थप चर्चा बटुलेकी छिन् ।
तिनै गायिका मङ्गलबार नारायणी नदी किनार आउँदै छिन् । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिसद् चितवनले आयोजना गरेको प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सवका लागि उनी चितवन आउन लागेकी हुन् । उनीसँगै हाँस्यकलाकार दिनेश काफ्ले ‘हाउडे’ले पनि मञ्च साझा गर्नेछन् ।
महोत्सवका साँस्कृतिक कार्यक्रम संयोजक ईश्वर रानामगरका अनुसार दिनभर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका कलाकारहरूको प्रत्यक्ष दोहोरीसँगै स्थानीय कलाकारहरूले प्रस्तुति दिने छन् । साथमा आदिवासी जनजातिसँग सम्बन्धित विभिन्न खालका नृत्यमार्फत मञ्च तताउने योजना रहेको साँस्कृतिक कार्यक्रम संयोजक रानामगरले जानकारी दिए । सोमबार चर्चित गायिका ज्योति मगरले मञ्च तताएकी थिइन् ।