–बबिलाल तामाङ
चितवन । बौद्ध धर्मावलम्बीहरुले १५६८ बुद्ध जयन्ती मनाउँदै छन् । जिल्लालगायत देशैभरका बौद्ध धर्मावलम्बीहरुले आज (बिहीबार) परेको वैशाख शुक्लपक्ष पूर्णिमा तिथीको दिन आ–आफ्नो पायक पर्ने स्थानमा र्यालीसहितको बुद्ध जयन्ती मनाउने तयारी थालेका छन् ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनले बुद्धजयन्तीको अवसरमा सबै पालिकाका तामाङ समुदायलाई आ–आफ्नो पायक पर्ने क्षेत्रका गुम्बाहरुमा विविध कार्यक्रम गरी मनाउन आग्रह समेत गरेको छ ।
- ADVERTISEMENT -

घेदुङ चितवनका अध्यक्ष बाबुलाल तामाङले बुद्ध जयन्तीको अवसर पारी सम्पूर्ण तामाङ समुदाय तथा बौद्ध धर्मावलम्बीहरुमा एक विज्ञप्ति मार्फत् शुभकामना व्यक्त गरेका छन् ।
अहिंसा, सदभाव, मानव कल्याण, शान्तिको मार्ग देखाउने बुद्धको विचारहरु विश्वभर नै लोकप्रिय छन् । बुद्धको उपदेश र मार्गदर्शनबाट अभिप्रेरित हुन सके, शान्ति र कल्याण प्राप्त हुने बौद्ध धर्मावलम्बीहरुको विश्वास रहिआएको छ ।
- ADVERTISEMENT -

नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिएका शान्तिका अग्रदुत मानिने बुद्धलाई विश्वमै अहिंसाको पूजारीको रुपमा चिनिदैँ आएको छ ।
यस्तैगरी राप्ती ५, मंगलटांडीमा स्थित छेथार मेण्डुलिङ बौद्ध गुम्बामा पनि बुद्ध जयन्ती मनाउँदै छन् । नेपाल गुम्बा समन्वय समितिको आयोजनामा ‘प्रथम राप्ती नगरपालिका स्तरीय २५६८औं राष्ट्रिय बुद्ध जयन्ती’ मनाउन लागिएको गुम्बाका अध्यक्ष राजेश रुम्बा तामाङले जानकारी दिए ।
उक्त कार्यक्रमको बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले उद्घाटन गर्ने भएको छ । कार्यक्रममा बौद्ध आचार्य खेन्पो गुरु फूर्वा थिङ तामाङले अमृतमय ज्ञान प्रवाह गर्ने बौद्ध धर्मबारे प्रकाश पार्ने अध्यक्ष तामाङले बताए ।
उनले बौद्ध धर्मावलम्बीहरु सबैलाई कार्यक्रममा उपस्थित भई सफल पारी दिनुहुन आह्वान समेत गरेका छन् । कार्यक्रम अघि बिहान ७ बजे शान्ति राप्ती ५, मंगटाँडीमा शान्ति र्याली हुनेछ ।
त्यसैगरी छेच्यु थर्पलिङ गुम्बा भोजाडमा पनि बुद्ध जयन्ती मनाउँदै छ । गुम्बाका अध्यक्ष पञ्चबहादुर तामाङका अनुसार बुद्धको पूजापाठ, दिप प्रज्वलन गरिने बताइएको छ ।
यसअघि गुम्बाको आयोजनामा बौद्ध धर्मावलम्बीहरुले आ–आफ्नै भेषभूषामा भरतपुर परिसरभित्र र्याली गर्ने अध्यक्ष तामाङले जानकारी दिए । गुम्बाले हरेक वर्ष बुद्धजयन्ती मनाउँदै आएको छ ।















































