April 20, 2025

चितवनमा अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने

March 18, 2025
- ADVERTISEMENT -

चितवन / तीनवटा संस्थाको संयुक्त आयोजनामा चितवनमा पहिलोपटक अन्तर्राष्ट्रिय नाट्य महोत्सव हुने भएको छ । आउँदो चैत १० देखि १२ गतेसम्म नाट्य महोत्सव सञ्चालन हुन गइरहेको सोमबार पत्रकार सम्मेलन मार्फत कार्यक्रम संयोजक देवकुमार श्रेष्ठले जानकारी दिए ।

तरङ्ग नाट्य समूह चितवन, कर्मी चौतारी चितवन र नारायणी कला मन्दिरको संयुक्त आयोजनामा हुने नाट्य महोत्सवले पर्यटन प्रवद्र्धन हुने संयोजक श्रेष्ठको विश्वास छ । उनले चितवनलाई नाट्य पर्यटनको विकाससँग जोड्नका लागि पनि यो महोत्सवले विशेष भूमिका खेल्ने बताए । विविध सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले भरिएको चितवन जिल्लामा विकसित हुँदै गरेको नाट्य परम्परालाई संरक्षण र प्रवद्र्धन गर्नका लागि पनि यस महोत्सवले भूमिका खेल्ने उनको भनाइ छ ।

महोत्सवका निर्देशक अञ्जान प्रदीपले चितवनको कलायुक्त भूमिबाट नेपाली नाट्य संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउनका लागि सहयोग मिल्ने बताए । उनका अनुसार महोत्सवमा नेपालसहित जापान, इरान, स्पेन, लिथुवानिया र भारतका पाँच
नाटक एउटै मञ्चमा मञ्चन हुनेछन् ।

महोत्सवमा सहभागी हुन पाँच राष्ट्रबाट करिब ४० कलाकारहरुको उपस्थिति रहने नाट्य महोत्सवका संयोजक श्रेष्ठले जानकारी दिए । ‘यो महोत्सवबाट करिब तीन हजार स्थानीय विभिन्न कोणबाट लाभान्वित हुने लक्ष्य लिइएको छ’, तरङ्ग नाट्य समूहका संस्थापक अध्यक्षसमेत रहेका श्रेष्ठले भने ।

राजधानीस्थित मण्डला थिएटरमा हुने तेस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सवको अवसर पारेर चितवन जिल्लामा पनि नाट्य महोत्सव गर्ने तयारी गरेको आयोजकले जनाएको छ । महोत्सवको नारायणी कला मन्दिरतर्फका संयोजक निरञ्जन प्रधानका अनुसार यस महोत्सवले चितवन जिल्लाको कला, संस्कृति, र पर्यटनलाई प्रवद्र्धन गर्दै स्थानीय तथा अन्तर्राष्ट्रिय रङ्गकर्मीहरुलाई अनुभव र ज्ञान आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ ।

- ADVERTISEMENT -