चितवन / नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति चितवनले विपन्न, जेहेन्दार तथा अशक्त मगर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरेको अक्षयकोषमा १० लाख रुपैयाँभन्दा बढी रकम संकलन गरेको छ ।
संघले आइतबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत अक्षयकोषमा हालसम्म १० लाख ७ हजार ६८० रुपैयाँ संकलन भएको जानकारी दिएको हो ।
- ADVERTISEMENT -

चितवन जिल्ला तथा यससँग जोडिएका छिमेकी जिल्लाका स्थानीय तहमा रहेका विपन्न, जेहेन्दार तथा अशक्त मगर विद्यार्थीलाई शैक्षिक सहयोग उपलब्ध गराउने उद्देश्यले २०७५ सालमा अक्षयकोष स्थापना गरिएको थियो ।
मगर विद्यार्थी अक्षयकोष चितवनका अध्यक्ष निर्मल थापामगरका अनुसार कोषमा देउसी–भैलो कार्यक्रम तथा देश–विदेशमा रहेका सहयोगदाताबाट प्राप्त आर्थिक सहयोग जम्मा गरिएको हो ।
कोषमा संकलित रकमबाट मगर विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुका साथै व्यक्तित्व विकास, आत्मविश्वास, सीप तथा प्रतिभा विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको थापामगरले बताए । यसबाट मगर समुदायको समग्र विकास र समृद्धिमा योगदान पुग्ने उनको भनाइ छ ।
अक्षयकोष सञ्चालनका लागि ‘मगर विद्यार्थी अक्षयकोष सञ्चालन निर्देशिका, २०७६’ समेत तयार गरिएको छ । कोषमार्फत हालसम्म विभिन्न कार्यक्रम सञ्चालन गरी २६१ जना विद्यार्थीलाई सहयोग गरिसकिएको अध्यक्ष थापामगरले जानकारी दिए ।
विशेषगरी एसईई तथा कक्षा १२ मा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै आर्थिक रूपमा विपन्न विद्यार्थीलाई समेत सहयोग गरिएको उनले बताए । विभिन्न विद्यालयमा विद्यार्थीका लागि स्टेशनरी सामग्रीसमेत वितरण गरिएको संघले जनाएको छ ।
नेपाल मगर विद्यार्थी संघले आगामी दिनमा अक्षयकोषमार्फत मगर विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, उत्तीर्ण विद्यार्थीलाई नगदसहित एजुकेसन अवार्डबाट सम्मान गर्ने तथा विपन्न, जेहेन्दार र मेधावी विद्यार्थीलाई शैक्षिक सामग्री एवं आर्थिक सहयोग गर्ने योजना बनाएको छ ।
त्यसैगरी मगर भाषा, कला तथा संस्कृतिको प्रवद्र्धन र संरक्षणका लागि मगर विद्यार्थी लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्ने लक्ष्यसमेत संघले लिएको अध्यक्ष थापामगरले बताए ।

















































