नेपालीहरूको महान् पर्व बडादसैँ घटस्थापनासँगै सुरु भएको छ । घरआँगनमा जमरा राखिएका छन्, बजारमा किनमेलको चहलपहल बढेको छ र देशविदेशबाट घर फर्किनेहरूको लर्को लाग्न थालेको छ । सामान्यतया उल्लास, उमङ्ग र पारिवारिक पुनर्मिलनको पर्वका रूपमा मनाइने दसैँ यसवर्ष भने मलिन देखिएको छ । कारण स्पष्ट छ, देशले हालै भोगेका विपत्ति, पीडा र क्षतिका घटनाहरू अझै ताजा छन् । भोटेकोशी, त्रिशूली र बूढीगण्डकी नदी क्षेत्रमा आएको बाढी तथा त्यसले निम्त्याएको जनधनको क्षतिले धेरै परिवारको खुसी खोसेको छ । कतिपय घरमा टीका लगाउने हात छैनन्, कतिपयका लागि दसैँ उत्सव नभई सम्झना र वेदनाको पर्व बनेको छ । प्राकृतिक विपत्तिका अतिरिक्त सवारी दुर्घटना, हत्या–हिंसा, बलात्कार, चोरी–डकैती, अपहरण, आगलागीजस्ता घटनाले समाजलाई निरन्तर आहत बनाइरहेका छन् । हरेक दिनजसो दुःखद समाचार सुन्नुपर्ने अवस्था छ । यस्ता घटनाले समाजमा असुरक्षा र निराशा बढाएको छ । एकातिर विपत्तिबाट पीडित नागरिकहरू पुनस्र्थापनाको प्रतीक्षामा छन् भने अर्कोतिर सामान्य जनताले आर्थिक अभाव र महँगीको मार झेलिरहेका छन् । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिँदै गएको छ ।
चाडपर्व नजिकिँदा कालोबजारी, कृत्रिम अभाव र अखाद्य वस्तुको बिक्रीजस्ता समस्या पनि दोहोरिने गरेका छन् । यस्तो परिस्थितिमा धेरै परिवारका लागि दसैँ उत्साहभन्दा बढी आर्थिक बोझ बनेको छ । दसैँ मूलतः असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको प्रतीक पर्व हो । तर, पछिल्ला वर्षहरूमा यसपर्वमा तडकभडक, प्रतिस्पर्धात्मक खर्च र देखासिकी बढ्दै गएको अनुभूति हुन्छ । आवश्यकताभन्दा बढी खर्च गरेर अरूसँग तुलना गर्ने, ऋण काढेरसमेत महँगो लुगा र भोजभतेरको व्यवस्था गर्ने प्रवृत्तिले दसैँको मौलिकता कमजोर बनाइरहेको छ । अझ रमाइलोका नाममा जुवातास खेल्ने, अत्यधिक मदिरा सेवन गर्ने र विभिन्न विकृत गतिविधिमा संलग्न हुने प्रवृत्ति बढ्नु चिन्ताको विषय हो । चाडपर्वको समयमा हुने घरेलु हिंसा, झैझगडा तथा आपराधिक घटनाको एउटा कारण नियन्त्रणहीन मदिरा सेवन पनि बन्ने गरेको छ । वास्तवमा चाडपर्वको मर्म भौतिक प्रदर्शनमा होइन, सम्बन्धको न्यानोपनमा हुन्छ । दसैँ भनेको परिवार, आफन्त, छरछिमेक र समुदायबीचको सम्बन्ध बलियो बनाउने अवसर हो । यो मेलमिलाप, सहिष्णुता, एकता, सद्भाव र भाइचाराको पर्व हो । त्यसैले हामीले आफ्नो खुसीसँगै अरूको पीडालाई पनि महसुस गर्नुपर्छ ।
- ADVERTISEMENT -

बाढीपहिरोबाट प्रभावित परिवार, असहाय, वृद्ध, गरिब र विपन्न समुदायलाई सहयोग गरेर मनाइने दसैँ नै वास्तवमा अर्थपूर्ण दसैँ हुनेछ । हाम्रो समाजमा अझै धेरै परिवार यस्ता छन्, जसलाई चाडपर्वको सामान्य खर्च जुटाउनसमेत कठिन छ । उनीहरूको अवस्थालाई बेवास्ता गरेर गरिने भड्किलो उत्सवले सामाजिक असमानतालाई झन् गहिरो बनाउँछ । यसवर्षको दसैँले हामीलाई संयम, संवेदना र सामाजिक उत्तरदायित्वको पाठ सिकाउनुपर्छ । आफ्नो आर्थिक क्षमता र परिस्थितिअनुसार दसैँ मनाउने संस्कृतिलाई प्रोत्साहन गर्न आवश्यक छ । ऋण काढेर वा देखासिकीका लागि गरिने खर्चले चाडलाई खुसीभन्दा बढी तनावको कारण बनाउँछ । दसैँलाई दशाको होइन, आत्मीयता र मानवताको पर्व बनाउन सक्नुपर्छ । शोक र वेदनाका बीचमा पनि आशा, सहानुभूति र एकताको दीप जलाउन सक्नुपर्छ । पीडितप्रति संवेदनशील बन्दै, सामाजिक सद्भाव कायम राख्दै र सभ्य ढङ्गले दसैँ मनाउनु नै आजको आवश्यकता हो । सबै नेपालीमा शान्ति, सुख, समृद्धि र सहअस्तित्वको भावना विकसित होस् । बडादसैँको शुभकामना !
















































