– बबिलाल तामाङ
चितवन । तामाङ पत्रकार संघ बागमती प्रदेशले ३२औँ तामाङ प्रसारण दिवस मनाएको छ । दिवसको अवसरमा बागमती प्रदेशका दुई जना तामाङ पत्रकारलाई पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ ।
शनिबार सम्पन्न कार्यक्रममा नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार शान्ति तामाङ र नमस्ते मनहरी डटकमका सञ्चालक जयराम मोक्तान पुरस्कृत भएको तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र तामाङले जानकारी दिए ।
- ADVERTISEMENT -

धादिङको धुनिबेँसी नगरपालिका–२ निवासी पत्रकार शान्ति तामाङलाई लामो समयदेखि पत्रकारिता क्षेत्रमा योगदान पुर्याएको भन्दै स्व. छेमबहादुर–राजकुमार बाँनिया पत्रकारिता पुरस्कार प्रदान तथा मकवानपुरको कैलाश गाउँपालिका–४ निवासी जयराम मोक्तानलाई आइतेसिंह–बुद्धिमाया रुम्बा स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो ।

नेपालमा तामाङ भाषामा पहिलोपटक रेडियो नेपालबाट समाचार प्रसारण भएको दिनलाई तामाङ प्रसारण दिवसका रूपमा मनाउँदै आइरहेको छ । २०५१ साल भदौ १ गते तामाङ भाषामा समाचार प्रसारण भएको दिनको स्मरणमा प्रत्येक वर्ष यो दिवस मनाउने गरिएको हो ।
बागमती प्रदेशका १३ वटै जिल्लाबाट सञ्चार क्षेत्रमा क्रियाशील तामाङ पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । तामाङ भाषामा विद्युतीय सञ्चार माध्यमबाट समाचार प्रसारण सुरु भएको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउँदै आएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्रीले तामाङ र नेवारी भाषालाई प्रदेशले कामकाजी भाषाका रूपमा लिएको बताए । उनले केही विद्यालयमा मातृभाषामै पठनपाठन गराउन पाठ्यक्रम विकासको काम अघि बढिसकेको जानकारी दिए ।
मुख्यमन्त्रीले आफू सानैदेखि तामाङ समुदायसँगै हुर्किएको उल्लेख गर्दै तामाङ भाषा, जाति र समुदायबीचको आपसी सम्बन्ध तथा सद्भावबाट प्रभावित भएर पत्रकारिता पुरस्कार कोष स्थापना गरिएको बताए । उनले आगामी दिनमा पनि यस्ता पुरस्कार तथा सम्मानले पत्रकारहरूलाई थप सक्रिय भएर कलम चलाउन प्रेरणा दिने विश्वास व्यक्त गरे ।
कार्यक्रम तामाङ पत्रकार संघ बागमती प्रदेशका अध्यक्ष ज्ञानन्द्र तामाङको सभापतित्वमा सम्पन्न भएको थियो ।


















































